
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग टी–२० सिरिजको दोस्रो खेल आज शनिबार मलेसियाको बायुमास ओभल मैदानमा खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान १०ः१५ बजे सुरु हुनेछ।

बिहीबार सम्पन्न पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सफल हुँदा तीन रनले पराजित भएको थियो। यस हारपछि नेपालले सिरिज बराबरी गर्ने लक्ष्यसहित दोस्रो खेलमा प्रवेश गर्न लागेको हो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ। बाँकी तीन खेल असोज १९, २१ र २२ गते हुने तय भएको छ।

इन्दु बर्माको कप्तानीमा रहेको टोलीले सिरिज प्रारम्भ अघि मलेसियामा अभ्यास खेल खेलेको थियो। नेपाली टोलीले आगामी खेलमा पहिलो जित दर्ता गर्ने लक्ष्य लिएको छ।































