
आज देशका पश्चिमी भूभागमा पश्चिमी वायु र बाँकी क्षेत्रमा कमजोर मनसुनी तथा स्थानीय वायुको प्रभाव जारी रहेको छ। यसको असरले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा बिहानैदेखि बदली देखिएको छ भने अन्य भूभागमा आंशिक बदली छ।
सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्र, लुम्बिनीका पश्चिमी भाग, बागमतीका केही स्थान र गण्डकीका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रहने र तराईमा आंशिक बदली हुने अनुमान छ।
कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना छ। राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतः सफा रहने अपेक्षा गरिएको छ। साथै, कोशी, मधेस, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
