
मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति बाहिरी धन–सम्पत्ति होइन, भित्री चरित्र र नियत हो । मानिसले बाहिर जति नै धार्मिक देखिए पनि, यदि उसको नियत अशुद्ध छ भने त्यो धार्मिकता केवल देखावटी मात्र हुन्छ । यही गहिरो सत्यलाई व्यक्त गर्ने सन्देश हो— “आफ्नो नियत सफा राख्नुहोस्, भगवान् चित्रमा होइन चरित्रमा बास गर्छन्।” यस वाक्यले धर्म, नैतिकता, मानवता र आत्मिक चेतनाको मूल मर्मलाई उजागर गर्दछ ।

धेरै मानिसहरू भगवान्लाई मन्दिर, मस्जिद, चर्च वा गुम्बामा मात्र खोज्छन् । उनीहरू मूर्तिको अगाडि घण्टौँ पूजा गर्छन्, दीप बाल्छन्, प्रसाद चढाउँछन् । तर पूजा सकिएपछि उनीहरूको व्यवहारमा परिवर्तन देखिँदैन । बोली कठोर हुन्छ, मनमा ईर्ष्या, द्वेष, घमण्ड र स्वार्थ भरिएको हुन्छ । यस्ता अवस्थामा भगवान्को पूजा बाहिरी कर्मकाण्ड मात्र बन्न जान्छ । वास्तवमा भगवान् बाहिरी चित्र वा मूर्तिमा सीमित छैनन्, उनी त मानिसको चरित्र, कर्म र नियतमा वास गर्छन् ।
नियत भनेको मानिसको अन्तरमनको सोच हो । नियत सफा हुनु भनेको सत्य, इमानदारी, करुणा र न्यायप्रति समर्पित हुनु हो । जब मानिसको नियत राम्रो हुन्छ, उसका कर्म स्वतः राम्रो हुन्छन् । ऊ कसैलाई धोका दिँदैन, कमजोरलाई दुःख दिँदैन, अरूको पीडामा संवेदनशील हुन्छ । यस्तो चरित्र भएको व्यक्तिको जीवन नै पूजा जस्तै हुन्छ । ऊ जहाँ भए पनि, जुन काम गरे पनि, भगवान्को अनुभूति त्यहीँ हुन्छ ।

इतिहास र धार्मिक ग्रन्थहरूमा पनि यही सन्देश पाइन्छ । भगवान् रामलाई मर्यादापुरुषोत्तम भनिन्छ, किनकि उहाँको चरित्र उच्च थियो । भगवान् बुद्धले बाहिरी पूजा भन्दा पनि सही सोच, सही बोली र सही कर्ममा जोड दिनुभयो । यी सबै उदाहरणहरूले देखाउँछन् कि भगवान्को निकटता प्राप्त गर्न चित्र होइन, चरित्र सुधार आवश्यक छ ।
आजको समाजमा देखावटी धार्मिकता बढ्दो छ । मानिस मन्दिरमा दान दिन्छ, तर घरमा बुबाआमालाई सम्मान गर्दैन । तीर्थयात्रा गर्छ, तर व्यापारमा ठगी गर्छ । यस्ता कार्यले समाजमा असमानता, अन्याय र अविश्वास बढाउँछ । यदि प्रत्येक मानिसले आफ्नो नियत सफा राख्ने हो भने समाज आफैँ शान्त, न्यायपूर्ण र समृद्ध बन्छ । किनकि राम्रो नियत भएका मानिसबाट कहिल्यै खराब कर्म जन्मिँदैन ।
चरित्र निर्माण सजिलो काम होइन । यसका लागि आत्मसंयम, आत्मपरीक्षण र निरन्तर अभ्यास आवश्यक हुन्छ । रिसको समयमा पनि धैर्य राख्न सक्नु, फाइदा हुँदा पनि इमानदार रहन सक्नु, शक्ति पाउँदा पनि विनम्र बन्न सक्नु—यिनै गुणहरूले चरित्रलाई महान बनाउँछन् । जब चरित्र उज्यालो हुन्छ, तब मानिस जहाँ बसे पनि भगवान्को बास भएको अनुभूति हुन्छ ।

विद्यार्थी जीवनमा यो भनाइ झनै महत्त्वपूर्ण छ । परीक्षा मा नम्बर भन्दा ज्ञानलाई महत्व दिनु, प्रतिस्पर्धामा इमानदार रहनु—यिनै कुराले विद्यार्थीको चरित्र बनाउँछन् । आज चरित्रवान विद्यार्थी नै भोलिको जिम्मेवार नागरिक बन्छ । यदि विद्यार्थीले सानैदेखि नियत सफा राख्ने बानी बसाल्यो भने भविष्य उज्यालो हुन्छ ।
अन्ततः भन्नुपर्दा, भगवान्लाई बाहिर खोज्नु भन्दा पहिले भित्र खोज्नुपर्छ । मन सफा छ कि छैन, नियत ठीक छ कि छैन, चरित्र सही छ कि छैन—यही नै साँचो पूजा हो । मूर्ति अगाडि टाउको झुकाउनु भन्दा पहिले अहंकार झुकाउनु आवश्यक छ । जब मानिसको हृदय शुद्ध हुन्छ, तब भगवान्को बास त्यहीँ हुन्छ ।
यसकारण हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि भगवान् चित्रमा होइन, चरित्रमा बास गर्छन् । आफ्नो नियत सफा राख्नु नै सबैभन्दा ठूलो धर्म हो । यही धर्मले व्यक्ति, समाज र सम्पूर्ण मानवतालाई सही बाटोमा लैजान सक्छ ।
✍️ लेखक कोपिला धामी
सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्।
































