
देशभर पश्चिमी वायुको आंशिक प्रभाव देखिँदा मौसममा सामान्य परिवर्तन आएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ, जसले दैनिक जनजीवन प्रभावित हुन सक्नेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

यस्तै, काठमाडौं उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सीयसको बीचमा रहने पूर्वानुमान गरिएको छ। मौसम चिसो रहने भएकाले स्वास्थ्यमा समेत ध्यान दिन महाशाखाले सुझाव दिएको छ।
































