
अत्तरियाः गोदावरी नगरपालिका द्वारा भोलीदेखि सुरु हुने पालिका स्तरीय अन्डर–१६ पुरुष फुटबल प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई आज खादा लगाएर औपचारिक रूपमा विदाई गरेका छन।

गोदावरी नगरपालिका वडा नम्बर–३ स्थित लेमनग्रास खेल मैदानमा कैलाली जिल्ला फुटबल संघको समन्वयमा धनगढी कभर्डहलमा आयोजना हुने प्रतियोगिताका लागि गोदावरी नगरपालिकाबाट १६ वर्ष मुनिका २० जना छात्र खेलाडी छनोट भएका हुन्। छनोट प्रक्रिया सफलतापूर्वक सम्पन्न हुँदै प्रारम्भिक चरणमा सहभागी १२० जना उत्कृष्ट खेलाडीमध्येबाट अन्तिम टोली तयार गरिएको हो।


उक्त छनोट प्रक्रियामा सहकार्य र सहयोग पुर्याएको सङ्घर्ष स्पोर्ट क्लब, वडा नम्बर–३ लाई गोदावरी नगरपालिकाले हार्दिक धन्यवाद ज्ञापन गरेको छ। स्थानीय स्तरमै यस्ता प्रतियोगिता तथा छनोट कार्यक्रम सञ्चालन हुँदा लुकेका खेल प्रतिभाहरू पहिचान हुने र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ। ⚽🏆


कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्टले खेलकुदमा हार–जितभन्दा पनि अनुशासन, नियमको पालना र खेलभावना महत्वपूर्ण हुने उल्लेख गर्दै खेलाडीहरूलाई मर्यादित र अनुशासित ढंगले खेल्न निर्देशन दिनुभयो। साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्न टोलीलाई शुभकामना व्यक्त गरे ।


































