
धनगढी : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र उम्मेदवार बन्ने होड तीव्र बनेको छ। प्रदेशका ९ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि १०२ जना नेताले प्रत्यक्षतर्फको टिकटमा दाबी गरेका छन्। औसतमा एक सिटका लागि ६ जनाभन्दा बढी आकांक्षी देखिँदा टिकट वितरण पेचिलो बन्ने संकेत देखिएको छ।

प्रदेश कार्यसमितिले केन्द्रमा पठाएको विवरणअनुसार पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट र दिलेन्द्रप्रसाद बडु दार्चुलाबाट सर्वसम्मत एकल सिफारिस भएका छन्। यी दुईबाहेक अन्य १४ निर्वाचन क्षेत्रमा भने एकल सिफारिस हुन सकेको छैन।

तराईका कैलाली र कञ्चनपुरमा आकांक्षीको संख्या उल्लेख्य छ। कैलाली–५ बाट डा. आरजु राणा देउवा पहिलो प्राथमिकतामा सिफारिस भएकी छन्। डोटीमा एक सिटका लागि १७ जनाको नाम सिफारिस हुनु सबैभन्दा धेरै हो।

प्रदेश प्रवक्ता सुरतबहादुर रावतका अनुसार जिल्लाबाट आएका सिफारिस जस्ताको तस्तै केन्द्रमा पठाइएको छ। अब अन्तिम निर्णय केन्द्रको हातमा छ।






























