राष्ट्रिय सभाको १९औँ अधिवेशन आजदेखि, सिंहदरबारबाटै बैठक सञ्चालन हुदै

Image
Nisarga Hospital

राष्ट्रिय सभाको १९औँ अधिवेशन आज आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा सञ्चालन गरिने भएको हो। पहिलो बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची तय गरिएको छ।

CP Hospital Dhangadhi

अधिवेशनको तयारीका लागि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसकेका थिए। पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन्। साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Attariya Hospital

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा माघ ४ गते अधिवेशन आह्वान गरेका थिए। गत भदौ ३१ गते १८औँ अधिवेशन अन्त्य भएको थियो।

nawajiwan

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचनको तयारी गरेको जनाएको छ। एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। नयाँ सदस्य चयनको प्रक्रियासँगै यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।