
नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले सोमबार यसबारे औपचारिक जानकारी दिएका हुन्। “शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने निर्णयमा पुग्नुभएको छ,” उनले बताए।

देउवाले यसपटक पनि डडेल्धुराबाट चुनाव लड्ने इच्छा व्यक्त गर्दै टिकटको अपेक्षा गरेका थिए। तर विशेष महाधिवेशनपछि निर्वाचित कांग्रेस कार्यसमितिले उनलाई अभिभावकीय भूमिकामा सीमित रहन आग्रह गरेको थियो। पार्टीका एक पदाधिकारीका अनुसार देउवालाई उम्मेदवार बनाउँदा कांग्रेसभित्र देखिएको पुस्तान्तरण र रूपान्तरणको सन्देश कमजोर हुने निष्कर्ष निकालिएको थियो।

२०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव जित्दै आएका देउवा सात पटक सांसद निर्वाचित भइसकेका छन्। गृहमन्त्री हुँदै पाँच पटक प्रधानमन्त्री बनेका देउवाको यो निर्णयसँगै कांग्रेस राजनीतिमा नयाँ पुस्तालाई अगाडि ल्याउने बाटो खुल्ने अपेक्षा गरिएको छ।































