
धनगढी लेडी जेसिजको १२औँ पदस्थापन समारोह तथा सम्मान वितरण कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ।

धनगढी लेडी जेसिज वर्ष २०२५ की अध्यक्ष संगीता न्यौपाने शाहको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी प्रमुख अतिथि रहनुभएको थियो। प्रमुख अतिथि जोशीले जेसिजले नेतृत्व विकास, महिला सशक्तीकरण तथा सामाजिक सेवामा खेलेको भूमिकाको प्रशंसा गर्दै युवालाई सकारात्मक परिवर्तनका संवाहक बन्न आग्रह गर्नुभयो।
कार्यक्रममा वर्ष २०२५ की अध्यक्ष संगीता न्यौपाने शाहले नवनिर्वाचित वर्ष २०२६ की अध्यक्ष जेसी पार्वती भट्ट जोशीलाई जेसिज विधिअनुसार औपचारिक रूपमा चेन हस्तान्तरण गर्नुभयो। चेन हस्तान्तरणसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हालेको घोषणा गरियो।


समारोहमा जेसिजका पूर्व अध्यक्ष तथा पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रमुख, जनप्रतिनिधि, सञ्चारकर्मी तथा जेसिज सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा उत्कृष्ट कार्य गर्ने बिभिन्न व्यक्तित्वहरूलाई सम्मानसमेत प्रदान गरिएको थियो।
यसअघि धनगढी लेडी जेसिजभित्र दुई समूहबीच देखिएको विवाद नयाँ कार्यसमिति निर्वाचित भएसँगै अन्त्य भएको जानकारी दिइएको छ। निवर्तमान तथा वर्तमान अध्यक्षहरूले जेसिजभित्र अब कुनै पनि विवाद नरहेको स्पष्ट पार्दै सबै महिला तथा युवालाई एकताबद्ध गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा वक्ताहरूले संगठनलाई अझ सबल, पारदर्शी र परिणाममुखी बनाउँदै सामाजिक रूपान्तरणमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।






























