
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंगो देशलाई एकतामा बाँध्ने उद्देश्यका साथ आफू मधेस झर्न लागेको बताएका छन्। मंगलबार सार्वजनिक गरेको भिडियो सन्देशमार्फत सभापति थापाले काठमाडौं र मधेसबीचको दूरी घटाउन र दुवै क्षेत्रका कथालाई आपसमा जोड्न चाहेको स्पष्ट पारे।

‘देश जोड्न म मधेस जाँदैछु। काठमाडौंका कथा मधेसलाई र मधेसका पीडा काठमाडौंसम्म पुर्याउन चाहन्छु,’ उनले भने, ‘मधेससँगको सम्बन्ध अझ प्रगाढ बनाउँदै त्यहाँको माटोलाई ढोग्न र नागरिकका समस्यासँग प्रत्यक्ष जुझ्न चाहन्छु।’

पहाडमा जन्मिए पनि काठमाडौंमा हुर्किएको उल्लेख गर्दै थापाले देशको नेतृत्व गर्ने आकांक्षा राख्नेले मधेसका पीडा बुझ्नैपर्ने धारणा व्यक्त गरे। भावी प्रधानमन्त्रीको रूपमा आफूलाई उभ्याउँदै आएका थापाले समावेशी दृष्टिकोण र राष्ट्रिय एकतालाई आफ्नो प्राथमिकता रहेको बताए।

उनले काठमाडौं क्षेत्र नम्बर ४ का मतदाताप्रति आभार व्यक्त गर्दै त्यही क्षेत्रको माया र भरोसाकै बलमा यहाँसम्म आइपुगेको बताए। ‘त्यहाँबाट पाएको अपार स्नेहप्रति सधैं ऋणी रहनेछु,’ उनले भने। सभापति थापाले शुभेच्छा बोकेर सर्लाहीबाट आफ्नो मधेस यात्रा सुरु गर्ने जानकारी पनि दिएका छन्।































