
काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापमा दुर्घटनामा परेको छ। रामेछापको मन्थली नगरपालिका–६ लिलौटी नजिकै बस तामाकोशी नदीमा खसेको हो। दुर्घटनामा परेका यात्रुमध्ये हालसम्म चार जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार मृतकको पहिचानको प्रक्रिया जारी छ।

अरनिको यातायातको प्रदेश ३–०१–००५–९९७५ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा चालकसहित १३ जना सवार रहेको बताइएको छ। उद्धार गरिएका यात्रुमध्ये ६ जना घाइते भएका छन्, जसलाई थप उपचारका लागि खुर्कोट र मन्थलीस्थित स्वास्थ्य संस्थामा पठाइएको छ।

बस नदीमा डुबेकाले उद्धार कार्य कठिन बनेको छ। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र उद्धार टोलीको सहयोगमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी छ भने थप विवरण आउन बाँकी रहेको छ।

































