
प्रधानमन्त्री सुशीला कार्कीले मुलुक विधिको शासन र संविधानको मार्गमा स्थिरतासाथ अघि बढिरहेको बताउँदै आगामी निर्वाचन शान्तिपूर्ण र ऐतिहासिक बनाउन आह्वान गरेकी छन्। देशबासीका नाममा सम्बोधन गर्दै उनले सबै मतदातालाई फागुन २१ गते अनिवार्य मतदानमा सहभागी हुन आग्रह गरिन्। मतदान भविष्य निर्धारण गर्ने महत्वपूर्ण निर्णय भएको उनले स्पष्ट पारिन्।


मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न, स्वस्थ प्रतिस्पर्धा कायम राख्न र शान्ति भंग नहुने वातावरण बनाउन उनले राजनीतिक दल तथा उम्मेदवारलाई अनुरोध गरिन्। निर्वाचन आयोग, सुरक्षा निकाय र कर्मचारीले तयारी पूरा गरेको उल्लेख गर्दै निष्पक्ष र भयरहित मतदान सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।
निर्वाचन र होली एकैसाथ परेकाले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गर्दै उनले एकता र सद्भाव सुदृढ गर्न आग्रह गरिन्। साथै, मध्यपूर्वको तनावबीच विदेशमा रहेका नेपालीको सुरक्षामा सरकार पूर्ण रूपमा कटिबद्ध रहेको पनि उनले बताइन्।
































