
कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित डा. आनन्द चन्दले सुदूरपश्चिमको स्वास्थ्य र शैक्षिक विकास आफ्नो पहिलो प्राथमिकतामा राख्ने घोषणा गरेका छन्। विजयी भएपछि धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सांसद चन्दले गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।

उनले विश्वविद्यालय सञ्चालनसँगै सेती प्रादेशिक अस्पताललाई विश्वविद्यालयको मातहत ल्याएर विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजना अघि सारे। यसले स्थानीय नागरिकलाई उपचारका लागि अन्य प्रदेश वा विदेश धाउनुपर्ने बाध्यता कम हुने उनले बताए।
सांसद चन्दले स्वास्थ्यसँगै शिक्षा, कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई विकासको आधार बनाएर अघि बढाउने बताएका छन्। कृषि क्षेत्रलाई आधुनिक बनाउँदै उत्पादन वृद्धि, कृषकलाई प्रविधि र बजारसँग जोड्ने तथा कृषि प्रणालीलाई व्यवसायिक बनाउने लक्ष्य पनि उनीसँग रहेको छ।


प्रदेशका महत्वपुर्ण विकास परियोजनाहरू सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि संघीय सरकारसँग पहल गर्ने उनले बताए। विशेष गरी धनगढी–खुटिया–दिपायल–उरै भञ्ज्याङ सडक निर्माणलाई तीव्र गतिमा अघि बढाउने योजना छ।
डा. चन्दले आफ्नो कार्यकाललाई परिणाममुखी बनाउँदै प्रदेशको समृद्धि र जनताको जीवनस्तर सुधारमा केन्द्रित रहने वचन दिए। उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा विगतभन्दा बढी बजेट ल्याउने लक्ष्य राखेका छन्।
































