
भाद्र २३–२४ मा भएको जेनजेड आन्दोलनबारे तत्कालीन काठमाडौंका सिडिओ छवि रिजालले आयोगसमक्ष दिएको बयानमा सुरुदेखि नै स्थिति अनुगमन गरिएको उल्लेख गरेका छन्। उनका अनुसार बिहानसम्म शान्तिपूर्ण देखिएको प्रदर्शन संसद् भवनतर्फ उन्मुख भएपछि हिंसात्मक बन्दै गयो र तोडफोड तथा आगजनी सुरु भयो। स्थिति नियन्त्रणबाहिर जाने संकेतपछि गृह मन्त्रालयसँग समन्वय गरी १२ः३० बजेदेखि कर्फ्यु लागू गरिएको थियो।

रिजालले न्यूनतम बल प्रयोग, मानवअधिकारको सम्मान र संयमता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिएको बताए। उनले सिधै गोली चलाउने आदेश नदिएको, तर अत्यन्त तनावपूर्ण अवस्थामा उच्च तहबाट ‘फायर खोल्ने’ आदेश आएको सुनेको उल्लेख गरे। प्रदर्शनकारीहरू आक्रामक भई संसद् परिसरभित्र प्रवेश गर्न खोजेपछि त्यहाँ सीमित रूपमा बल प्रयोग गरिएको जनाइएको छ।

घटनाका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको र व्यापक क्षति भएको जानकारी उनले दिएका छन्। २४ गते पनि कर्फ्यु जारी राख्दै सुरक्षा सतर्कता बढाइएको थियो। प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न अन्योलले हिंसा थप फैलिएको, सुरक्षाकर्मीको कमी र समन्वय अभावका कारण विभिन्न स्थानमा लुटपाट, आगजनी र कैदी भाग्ने घटनासमेत भएको बयानमा उल्लेख छ।
































