
सरकारले वैदेशिक रोजगारीमा जान आवेदन दिने दिनमै श्रम स्वीकृति दिने व्यवस्था लागू गर्ने भएको छ। अबसम्म टोकन प्रणालीमार्फत तोकिएको दिनमा मात्र स्वीकृति दिने प्रचलन थियो, जसलाई हटाउने निर्णय गरिएको हो। आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले यो निर्णय गरेको हो।

बैठकले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई डिजिटल बनाउने निर्णय पनि गरेको छ। श्रव्य–दृश्य सामग्री निर्माण गरी अनलाइन माध्यमबाट उपलब्ध गराइनेछ भने तालिम पनि पूर्ण रूपमा अनलाइन प्रणालीमा रूपान्तरण गरिनेछ।

त्यसैगरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई समेट्ने अभियान सञ्चालन गरिने र न्यूनतम ज्यालाको पूर्ण कार्यान्वयन सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको सुरक्षा, कार्यस्थल स्वास्थ्य र मापदण्ड सुधारबारे पनि छलफल भएको छ। रोजगारी सिर्जना र सीप विकास तालिम विस्तार गर्ने विषयमा समेत ध्यान दिइएको छ।































