
सुदूरपश्चिम प्रदेश सभामा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रयोग गर्दै आएको सरकारी गाडी शनिबार कनेरी पार्कमा पिकनिकका क्रममा देखिएपछि विवाद चर्किएको छ। बिदाको दिन सरकारी सवारी प्रयोग गर्न नपाइने नियम हुँदाहुँदै उक्त गाडी पार्क क्षेत्रमा देखिएपछि दुरुपयोग भएको आरोप लागिरहेको छ।

भट्ट प्रदेश सभा सचिवालयबाट सुविधा स्वरूप गाडी प्रयोग गर्दै आएका छन्। तर, पिकनिक स्थलमै गाडी पुगेको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म प्रश्न उठेको छ। यस घटनाले सरकारी स्रोतको पारदर्शिता र जिम्मेवारीमाथि पुनः बहस जन्माएको छ।

आफूमाथि लागेको आरोपबारे भट्टले भने पिकनिकमा सहभागी हुन नभई जनतासँग भेटघाट र स्थानीय मागबारे छलफल गर्न कनेरी पुगेको दाबी गरेका छन्। “फर्किने क्रममा चिनेजानेका मानिस भेटिएपछि केही समय रोकिएको मात्रै हो,” उनले स्पष्ट पारे। उनका अनुसार सचिवसँग मौखिक अनुमति लिएरै ३५ लिटर इन्धन प्रयोग गरिएको हो।

यता, प्रदेश सभा सचिवालयका देवबहादुर बोगटीले जेनजी आन्दोलनपछि बिदामा सवारी प्रयोग अनुमति दिने व्यवस्था रोकिएको बताए। उनले शनिबार भएको ख्याल नगरी इन्धन उपलब्ध गराइएको स्वीकार्दै सामान्य अवस्थामा लिखित पास आवश्यक पर्ने उल्लेख गरे।































