
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता जयन्ती आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदै छ। त्रेता युगमा मिथिलाका राजा जनकले यज्ञका क्रममा हलो जोत्दा भूमिबाट उत्पत्ति भएकी सीताको कथा रामायण लगायत वैदिक ग्रन्थमा उल्लेख गरिएको छ। उनलाई आदर्श नारी, पतिव्रता र त्यागको प्रतीकका रूपमा सम्मान गरिन्छ।

सीताले राजकुमार राम सँग विवाह गरी वनवासदेखि अनेक कठिन परिस्थितिमा पनि धर्म र निष्ठा कायम राखेकी थिइन्। रावणद्वारा हरण भएपनि उनले आफ्नो पतिव्रता धर्म त्यागिनन्। पछि अयोध्या फर्किएपछि समेत लोकनिन्दाबाट जोगिन गर्भावस्थामै वनवास रोजेको प्रसङ्गले उनलाई त्याग र सहनशीलताको प्रतीक बनाएको छ।

देशभरका रामजानकी मन्दिरहरूमा विशेष पूजा आराधना भइरहेका छन् भने रामजानकी मन्दिर मा भव्य मेला लागेको छ। साथै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर र सीतापाइला मन्दिरमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ।

सीताको आदर्श जीवन, त्याग र मर्यादाले नेपाली समाजमा नारी सम्मान र सांस्कृतिक चेतनालाई अझ मजबुत बनाएको विश्वास गरिन्छ।






























