
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा औसतभन्दा केही माथि तर पूर्वतर्फ औसत स्थानमै रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ।

हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस र कोशीका तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार पहाडी क्षेत्रका साथै कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभाग तथा लुम्बिनी तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

रातिको समयमा पनि देशभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा तथा बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी र कर्णालीका विभिन्न पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास र पहिरो जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।































