
जल तथा मौसम विज्ञान विभागले आज सुदूरपश्चिमसहित देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।

यस्तै, लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी क्षेत्रका केही स्थान तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। यात्रु, किसान तथा नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
































