
धार्मिक तथा पर्यटकीय गन्तव्य बाजुराको बडीमालिकामा पछिल्लो समय पर्यटक र भक्तजनको चहलपहल उल्लेख्य रूपमा बढेको छ। यस वर्ष जनैपूर्णिमाको मुख्य मेला भदौ १२ गते हुने भए पनि त्यसअघि नै बडीमालिका जानेको संख्या बढ्न थालेको हो। स्थानीयका अनुसार चैतदेखि नै आन्तरिक पर्यटकको आगमनमा वृद्धि देखिएको छ।

स्थानीय शिक्षक शेरबहादुर रावलका अनुसार प्रचार–प्रसार बढेसँगै बडीमालिकाप्रति मानिसको आकर्षण बढेको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्विट्जरल्यान्ड’का रूपमा उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको स्थानीयको भनाइ छ।
बडीमालिका नगरपालिका–८ का पर्यटक गाइड नरबहादुर रावलका अनुसार पहिले फाट्टफुट्ट पर्यटक पुग्ने गरेकोमा अहिले दैनिकजसो एक सयभन्दा बढी व्यक्ति बडीमालिका पुग्न थालेका छन्। गत वर्ष जनैपूर्णिमाको मेलामा इतिहासकै धेरै भक्तजन पुगेकाले यस वर्ष त्यो संख्या अझै बढ्ने अनुमान गरिएको छ।

समुद्री सतहबाट करिब ४ हजार २०० मिटर उचाइमा रहेको बडीमालिका धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम हो। यहाँबाट अपी, सैपाललगायत हिमशृंखलाको मनमोहक दृश्य देखिन्छ। त्रिवेणी, २२ पाटन, विष्णुपानी, धर्मद्वार र खेतीबेती यहाँका प्रमुख आकर्षण हुन्। डाँफे, मुनाल, कस्तुरीलगायत दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी पनि यस क्षेत्रमा पाइन्छन्।

बडीमालिका नगरपालिकाका प्रमुख अम्मरबहादुर खड्काले प्रचार–प्रसारसँगै पर्यटकको आगमन बढेको बताए। विगतमा जनैपूर्णिमाको पूजाका बेला मात्र भीड लाग्ने गरे पनि अहिले वर्षभरि नै पर्यटक पुग्न थालेका छन्। यहाँ दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वाससमेत रहँदै आएको छ।
तर बढ्दो आकर्षणसँगै बडीमालिकाको पूर्वाधार अभाव भने चुनौती बनेको छ। व्यवस्थित पैदलमार्ग, खानेपानी, शौचालय, धर्मशाला, सुरक्षित आवास, स्वास्थ्य सेवा र संकेत चिह्नको अभावमा यात्रुले सास्ती खेप्दै आएका छन्। पैदलमार्ग व्यवस्थित नहुँदा दुर्घटनाको जोखिमसमेत उच्च छ। गत वर्ष मात्रै फर्कने क्रममा लडेर दुई जनाको मृत्यु भएको थियो।
स्थानीयले फोहोर व्यवस्थापन, वातावरण संरक्षण र सुरक्षित पर्यटन पूर्वाधारमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्। बडीमालिकालाई संरक्षण क्षेत्र घोषणा गरी छुट्टै व्यवस्थापन समिति गठन गर्नुपर्ने उनीहरूको सुझाव छ। साथै मन्दिरमा संकलन हुने भेटीलाई पारदर्शी र व्यवस्थित बनाउनुपर्ने मागसमेत उठेको छ।
प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, जैविक विविधता र पौराणिक कथाले भरिएको बडीमालिका अब केवल जनैपूर्णिमाको तीर्थस्थल नभई वर्षभरि पर्यटक तान्ने सम्भावनायुक्त हिमाली गन्तव्यका रूपमा विकसित हुँदै गएको छ।































