वर्षाले रोक्यो नेपाल–श्रीलंका क्वाटरफाइनल, एसियन गेम्सबाट नेपाल बाहिरियो

Image
Nisarga Hospital

लगातारको वर्षाका कारण खेल हुन नसक्दा नेपाल एसियन गेम्सको पुरुष टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार नेपाल र श्रीलंकाबीच तय भएको क्वाटरफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपाल एउटा पनि बल नखेली प्रतियोगिताबाट बाहिरिएको हो। समूह विजेता बनेर क्वाटरफाइनल पुगेको नेपालविरुद्ध खेल नहुँदा श्रीलंका आईसीसी टी–२० वरीयताका आधारमा सिधै सेमिफाइनलमा पुगेको छ।

CP Hospital Dhangadhi

आईसीसीको पछिल्लो पुरुष टी–२० वरीयतामा श्रीलंका नवौँ र नेपाल १४औँ स्थानमा छ। खेल सञ्चालन हुन नसकेपछि वरीयतामा माथि रहेको श्रीलंकाले सेमिफाइनलमा स्थान बनाएको हो।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा आयोजक जापानविरुद्धको खेल वर्षाका कारण नतिजाविहीन बनेपछि नेपाल तीन अंकसहित समूह विजेता बनेको थियो।

nawajiwan
Attariya Hospital

जापानविरुद्ध नेपालले चार विकेट गुमाएर १५ ओभरमा १४९ रन बनाएको थियो। उक्त खेलमा सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए। लोकेश बमले पनि आक्रामक ब्याटिङ गर्दै २२ बलमा ६ छक्का र एक चौकासहित अविजित ५२ रन जोडे।

ओपनर आसिफ शेखले १५ बलमा २१ रन बनाउँदा कुशल भुर्तेल १२ बलमा चार रनमा आउट भए। कुशल मल्ल र गुल्सन झाले समान दुई रन बनाए।

यसअघि समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले हराएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले २० ओभरमा १०२ रनमै रोकेको थियो। १०३ रनको लक्ष्य नेपालले १७ ओभर दुई बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। अफगानिस्तानका तीन ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन्।