
सरकारको पहिलो कर्तव्य आफ्ना नागरिकको सुरक्षा गर्नु हो। तर सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमणले विश्वकै शक्तिशाली मुलुकसमेत गम्भीर सुरक्षा र गुप्तचर चुनौतीबाट अछुतो नरहेको देखायो। अलकायदाका आत्मघाती पाइलटले अपहरण गरिएका विमानलाई वर्ल्ड ट्रेड सेन्टर र अन्य स्थानमा ठोक्काउँदा २ हजार ९७७ जनाको मृत्यु भएको थियो।

९/११ लाई अमेरिकी इतिहासकै सबैभन्दा ठूलो गुप्तचर असफलतामध्ये एक मानिन्छ। अमेरिकी गुप्तचर निकाय सीआईए र एफबीआईसँग अलकायदा तथा ओसामा बिन लादेनबारे यसअघि नै विभिन्न सूचना थिए। तर ती सूचनालाई समयमै जोडेर सम्भावित आक्रमण रोक्न नसक्दा सुरक्षा संयन्त्रको कमजोरी उजागर भयो। पछि गठित ९/११ आयोगले सूचना आदानप्रदान, नीति, व्यवस्थापन र जोखिमको मूल्याङ्कनमा गम्भीर कमजोरी रहेको निष्कर्ष निकालेको थियो।
आक्रमणपछि अमेरिकाले गुप्तचर संयन्त्रमा व्यापक पुनर्गठन गर्यो। विभिन्न निकायबीच सूचना आदानप्रदान बढाइयो र नेसनल काउन्टर टेररिजम सेन्टर स्थापना गरियो। अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डबीचको ‘फाइभ आइज’ गठबन्धनले समेत गुप्तचर सहकार्यलाई थप बलियो बनायो।

तर ९/११ पछि पनि पश्चिमी मुलुकहरूले ठूला गुप्तचर तथा रणनीतिक असफलता बेहोरे। सन् २००३ को इराक आक्रमणअघि सामूहिक विनाशका हतियारबारे गलत सूचनालाई राजनीतिक निर्णयमा प्रयोग गरिएको आरोप लाग्यो। बेलायतको एमआई६ माथि समेत गलत तथा अप्रमाणित सूचनामा निर्भर भएको भन्दै प्रश्न उठ्यो। त्यस्तै, सन् २००५ को लन्डन बम विस्फोट र सन् २०१७ को म्यानचेस्टर एरिना आक्रमणले सुरक्षा निकायका सीमितता देखाए।
९/११ पछिको ‘वार अन टेरर’ ले पश्चिमी देशहरूको सुरक्षा प्राथमिकता लामो समयसम्म आतंकवाद र विद्रोह नियन्त्रणमा केन्द्रित गर्यो। यसबीच रुस र चीनले सैन्य, प्रविधि तथा रणनीतिक क्षमतामा ठूलो लगानी गरे। अहिले पश्चिमी गुप्तचर निकायका लागि आतंकवादसँगै रुस, चीन, इरान र अन्य राज्यबाट उत्पन्न सुरक्षा चुनौती पनि प्रमुख बनेका छन्।

विशेषज्ञहरूका अनुसार आधुनिक सुरक्षा चुनौती केवल सैनिक शक्ति वा आतंकवादी समूहमा सीमित छैन। सेमिकन्डक्टर, महत्वपूर्ण खनिज, ब्याट्री, बन्दरगाह, दूरसञ्चार तथा औद्योगिक क्षमतासमेत राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषय बनेका छन्। त्यसैले समस्या सूचना संकलनमा मात्र नभई उपलब्ध सूचनाको सही विश्लेषण र रणनीतिक निर्णयमा पनि रहेको देखिन्छ।
९/११ पछि मानव अधिकारको प्रश्नसमेत गम्भीर रूपमा उठ्यो। आतंकवाद नियन्त्रणका नाममा पक्राउ, हिरासत, यातना र गुआन्तानामो बेमा लामो समयसम्म मुद्दाबिनै थुनिएका व्यक्तिका विषयमा अमेरिका र उसका सहयोगी मुलुक आलोचित भए।
पछिल्ला २५ वर्षमा विश्व सुरक्षा वातावरण निकै बदलिएको छ। एआई, क्वान्टम कम्प्युटिङ, जैविक प्रविधि र अत्याधुनिक निगरानी प्रणालीले गुप्तचर कामको स्वरूप परिवर्तन गरिरहेका छन्। तर ठूलो चुनौती अझै पनि उही छ—उपलब्ध सूचनाका टुक्रालाई सही समयमा जोडेर भविष्यमा हुन सक्ने खतराको पूर्वानुमान गर्नु।
९/११ को घटनाले देखाएको मुख्य पाठ यही हो कि पर्याप्त सूचना मात्र भएर पुग्दैन। त्यसलाई सही ढंगले विश्लेषण गरी समयमै रणनीतिक निर्णयमा प्रयोग गर्न सकिएन भने शक्तिशाली सुरक्षा संयन्त्रसमेत असफल हुन सक्छ। २५ वर्षपछि पनि विश्वका गुप्तचर निकायसामु यही चुनौती नयाँ स्वरूपमा कायम रहेको देखिन्छ। (बीबीसीबाट)































