
डोटीको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयका विद्यार्थी कक्षाकोठा अभावका कारण खुला चौरमा पढ्न बाध्य भएका छन्।

विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीका अनुसार विद्यालय २०४५ सालमा स्थापना भए पनि आवश्यक भवन निर्माण हुन नसक्दा वर्षौंदेखि विद्यार्थीहरू नजिकैको मालिका मन्दिरको प्राङ्गणमा अध्ययन गर्दै आएका छन्।
हाल विद्यालयमा ९२ जना विद्यार्थी भए पनि केवल दुईवटा मात्र कक्षाकोठा छन्। तीमध्ये एक कोठा विद्यालय प्रशासनका लागि प्रयोग गरिँदा अर्को कोठामात्र कक्षा सञ्चालनका लागि रहेको छ। थप कक्षाकोठा अभाव भएकाले खुला चौरमै पढाउनुपर्ने बाध्यता रहेको जोशी बताउँछन्।
“२०७९ कात्तिक २३ गतेको भूकम्पले विद्यालय भवनमा क्षति पु¥याएको छ। दुई वटा टिनले छाएका कोठा जीर्ण अवस्थामा छन्,” प्रधानाध्यापक जोशीले भने, “पटक–पटक प्रदेश तथा स्थानीय सरकारसँग भवन निर्माणका लागि अनुरोध गरे पनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन।”
विद्यालयमा शौचालयसमेत अभाव हुँदा विद्यार्थी र शिक्षकहरू खुला ठाउँमै शौच गर्न बाध्य छन्। सरकारी निकायको उपेक्षाका कारण विद्यार्थीको शिक्षामा गम्भीर असर परिरहेको स्थानीय अभिभावकहरूको गुनासो छ।





























