
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजअन्तर्गत नेपालले बुधबार आफ्नो पाँचौं खेल खेल्दैछ। नेपाली समयअनुसार बिहान ११:१५ बजे नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले हालसम्म खेलेका चार खेलमध्ये तीनमा हार र एकमा मात्र जित निकालेको छ। पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले, दोस्रोमा बंगलादेश ‘ए’ सँग ३२ रनले र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको नेपालले चौथो खेलमा भने होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हराउँदै आत्मविश्वास बढाएको छ।
११ टिम सहभागी सिरिजको अंकतालिकामा नेपाल हाल ९औं स्थानमा छ। यता मेलबर्नले खेलेका तीन खेलमध्ये दुईमा जित निकाल्दै चार अंकसहित पाँचौं स्थानमा उक्लिएको छ। यस कारण आजको खेल नेपालका लागि जित्नैपर्ने अवस्थामा रहेको छ।


नेपालले सिरिजको अन्तिम खेल शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्नेछ।
नेपाली टोली :
रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम।






























