
डोटीमा करेन्ट लागेर एक जना वडासदस्यको निधन भएको छ। जोरायल गाउँपालिका–६ गावर निवासी २८ वर्षीय खेम साउँदको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटना मंगलबार दिउँसो करिब २ बजेतिर आफ्नै कोठामा भएको हो।

प्रहरीका अनुसार घरभित्र प्रयोग भइरहेको बिजुलीको तार सर्ट भई साउँदको छातीमा करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्कालै उपचारका लागि आफन्तले सेती प्रादेशिक अस्पताल धनगढी लगेका थिए। बेलुका ५ बजेर ५ मिनेटमा अस्पताल पुर्याइएका साउँदको उपचारकै क्रममा ५ बजेर २७ मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृतक साउँद २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जोरायल गाउँपालिका वडा नं. ६ को वडासदस्यमा निर्वाचित भएका थिए। उनी युवावस्थामै सक्रिय राजनीतिमा संलग्न थिए। घटनाले स्थानीय तहदेखि गाउँसम्म शोकको वातावरण छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।





























