
आइसिसी टी–२० विश्वकपको तयारी अन्तर्गत नेपालले आज क्यानडासँग अन्तिम अभ्यास खेल खेल्दैछ। चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुने नेपाल–क्यानडाबीचको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुनेछ। यसअघि नेपालले पहिलो अभ्यास खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गर्दै आत्मविश्वास बढाएको थियो।

युएईविरुद्धको प्रभावशाली जितपछि उच्च मनोबलमा देखिएको नेपाली टोली क्यानडामाथि पनि जित निकाल्दै विश्वकपअघि थप लय समात्ने लक्ष्यमा छ। नेपालले विश्वकप तयारीकै क्रममा भारतको मुम्बईमा एमसिए प्रेसिडेन्ट–११ तथा श्रीलङ्कामा श्रीलङ्का ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो।

नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालले इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि प्रतिस्पर्धा गर्नेछ। यो नेपालको तेस्रो टी–२० विश्वकप सहभागिता हो।

































