
सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनल खेलमा आज सोमबार नेपाल र हङकङ आमनेसामने हुँदै छन्। बहुप्रतीक्षित उपाधि भिडन्त नेपाली समयअनुसार दिउँसो १२:१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ। प्रतियोगितामा दुवै टोली अपराजित रहँदै समूह चरण र सेमिफाइनल पार गर्दै फाइनलमा पुगेका हुन्।

नेपालले सेमिफाइनलमा ओमानमाथि ८ विकेटको सानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। उक्त खेलमा नेपालको धारिलो बलिङ आक्रमणसामु ओमान ९४ रनमै समेटिएको थियो। त्यसपछि नेपालले उक्त लक्ष्य मात्र ९.२ ओभरमा पूरा गर्दै विस्फोटक ब्याटिङ प्रदर्शन गरेको थियो।

यता, हङकङले सेमिफाइनलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। मलेसियाले दिएको ११५ रनको लक्ष्य हङकङले १० बल बाँकी छँदै पूरा गरेको थियो।

आजको खेलमा नेपालले बलिङ आक्रमण र प्रारम्भिक ब्याटिङमा आक्रामक रणनीति अपनाउने अपेक्षा गरिएको छ। स्पिन र पेस आक्रमणले हङकङलाई दबाबमा राख्ने नेपालको योजना देखिन्छ। यस्तै, हङकङले अनुशासित बलिङ र बलियो फिल्डिङमार्फत नेपाललाई रोक्ने प्रयास गर्नेछ। उपाधि भिडन्त रोमाञ्चक हुने अनुमान गरिएको छ।
































