
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्यान्ड्समा जारी शृङ्खलाको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।

लगातार तीन खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै शृङ्खलाको सुखद अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल पहिलो खेलमा नामिबियासँग ८ विकेटले, दोस्रो खेलमा ३ रनले र तेस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो।

लगातार हारका कारण लिग–२ को शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने नेपालको सम्भावना कमजोर बनेको छ। आठ टोली सहभागी प्रतियोगितामा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन्। शीर्ष चार टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछन् भने शीर्ष ६ भित्र रहे मात्र एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगिनेछ।

यस्तो अवस्थामा नेपालका लागि आजको खेल प्रतिष्ठासँगै अंक तालिकामा सुधार गर्ने दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको छ।































