
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले खाना पकाउने ग्यासका लागि सर्वसाधारण मध्यरातसम्म लाइनमा बस्नुपर्ने अवस्थाले आफूलाई लज्जित बनाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै प्रसाईंले निर्वाचनका बेला रास्वपाले गरेको प्रतिबद्धता स्मरण गर्दै अहिलेको अवस्थाप्रति दुःख व्यक्त गरेका हुन्। उनले रास्वपाले सरकारी कार्यालयमा सेवाग्राहीले लाइन बस्न नपर्ने र ‘नो लाइन, ओन्ली अनलाइन’को व्यवस्था गर्ने वाचा गरेको स्मरण गरे।


“खाना पकाउने ग्यासको अभावमा जनता दिनभरि र रातभरि लाइनमा बसेको दृश्यले साँच्चिकै लाज लागेको छ,” उनले भने।
प्रसाईंले ग्यासको अभाव प्रधानमन्त्री तथा मन्त्रीका क्वार्टरमा पनि रहेको हो कि सर्वसाधारणले मात्र समस्या भोग्नुपरेको हो भन्ने प्रश्न गरे। उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गरिएको भए संलग्नलाई कठोर कारबाही गर्न सरकारसँग माग गरे।
उनले नागरिकले राजनीतिमा नयाँ चिल्ला अनुहार मात्र नभई नयाँ व्यवहार र कार्यशैली खोजेको बताए। जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।































