
डीपीआरअनुसार आधुनिक स्वरूपमा बन्दैछ अत्तरिया बसपार्क, प्रदेशकै प्रमुख यातायात केन्द्र बनाउने लक्ष्य
अत्तरियाः सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट पोइन्टका रूपमा तीव्र गतिमा विकास भइरहेको कैलालीको अत्तरियामा अब व्यवस्थित तथा आधुनिक प्रदेशस्तरीय बसपार्क निर्माणको तयारी अघि बढेको छ। लामो समयदेखि चर्चामा रहेको बसपार्क निर्माणका लागि स्थानीय र प्रदेश सरकारको सहकार्यमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। आवश्यक जग्गासम्बन्धी विषय समाधान हुँदै गएसँगै डीपीआरअनुसार बसपार्क निर्माणको बाटोसमेत क्रमशः खुल्दै गएको छ।

अत्तरिया बसपार्कलाई केवल यात्रुवाहक बस रोक्ने र यात्रु चढाउने–ओराल्ने स्थानका रूपमा मात्र नभई अत्तरियाको व्यवस्थित शहरी विकास, यातायात व्यवस्थापन र आर्थिक गतिविधिको महत्वपूर्ण पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार बसपार्क निर्माणका लागि स्थानीय सरकार र दुर्गालक्ष्मी सामुदायिक वनबीच सहमति भइसकेको छ। सहमतिसहितको पत्र प्रदेश सरकारसमक्ष पठाइसकिएको तथा स्थानीय र प्रदेश सरकारको सहकार्यमा केही वर्षअघि नै बसपार्कको डीपीआर तयार भइसकेको उनले जानकारी दिए।

नगर प्रमुख भट्टले प्रदेश सरकारले आवश्यक बजेट सुनिश्चित गरे अत्तरियामा प्रदेशस्तरीय बसपार्क निर्माणको काम अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अत्तरिया सुदूरपश्चिमका नौवटै जिल्लासँगै देशका विभिन्न क्षेत्रबाट आउने यात्रुवाहक बस तथा अन्य सवारीसाधनको महत्वपूर्ण आवागमन केन्द्र हो।

“अत्तरिया क्षेत्र सुदूरपश्चिमका सबै जिल्लाबाट आउने यात्रुवाहक बस तथा अन्य सवारीसाधन आवतजावत गर्ने मुख्य प्रवेश क्षेत्र हो। त्यसैले यहाँ व्यवस्थित बसपार्क अहिलेको अपरिहार्य आवश्यकता हो,” उनले भने।
डीपीआरअनुसार प्रस्तावित बसपार्क निर्माण भएपछि अहिले सडक तथा बजार क्षेत्रमा जथाभावी रूपमा हुने बस पार्किङ र यात्रु ओसारपसारको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको छ। व्यवस्थित बसपार्क सञ्चालनमा आएपछि लामो दूरी तथा छोटो दूरीका सवारीसाधनको व्यवस्थापन सहज हुनुका साथै यात्रुले समेत सुरक्षित र व्यवस्थित सेवा प्राप्त गर्नेछन्।
बसपार्क निर्माणलाई अत्तरियाको समग्र विकाससँग जोडेर अघि बढाउन खोजिएको छ। यातायात पूर्वाधारसँगै यात्रु सुविधा, व्यवस्थित आवागमन, पार्किङ व्यवस्थापन तथा व्यापारिक गतिविधिलाई समेत समेट्ने गरी पूर्वाधार विकास गर्ने अवधारणाले अत्तरियाको भविष्यको शहरी स्वरूपलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।






























