जलवायु संकट र विपद्को क्षतिपूर्ति उठाउँदै प्रधानमन्त्री शाहले आज राष्ट्रसंघमा सम्बोधन गर्ने

Image
Nisarga Hospital

प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार अमेरिकाको न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दैछन्। राष्ट्रसंघको आधिकारिक कार्यतालिकाअनुसार उनको सम्बोधन सेप्टेम्बर २४ मा हुने तय भएको छ। महासभाको ८१औँ सत्रको उच्चस्तरीय बहस सेप्टेम्बर २२ देखि २६ र २८ सम्म हुँदैछ।

CP Hospital Dhangadhi

प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा न्युयोर्क पुगेका हुन्। नेपालका तर्फबाट उनले जलवायु परिवर्तन, जलवायुजन्य विपद्, हिमाली क्षेत्रमा बढ्दो जोखिम तथा जलवायु न्यायका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ। विशेषगरी भोटेकोसीलगायत क्षेत्रमा पछिल्लो समय भएका विपद्का कारण भएको जनधनको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता प्रस्तुत गरिनेछ।

नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा न्यून योगदान भए पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्नेछ। हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउँदै प्रभावित तथा कमजोर मुलुकलाई थप ऋणको भार नपर्ने गरी सहयोग उपलब्ध गराउनुपर्ने विषयमा समेत जोड दिइने बताइएको छ।

nawajiwan
Attariya Hospital

न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले भने महासभाका विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा कूटनीतिक भेटघाटमा सहभागिता जनाइरहेका छन्।

यस वर्षको महासभाको मुख्य विषय ‘विश्वास पुनर्स्थापना, रूपान्तरण व्यवस्थापन’ रहेको छ। राष्ट्रसंघका महासचिव गुटेरेसले जलवायु संकटसँगै विश्वव्यापी द्वन्द्व र कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रभावबारे अन्तर्राष्ट्रिय सहकार्य र जिम्मेवार नियमनको आवश्यकता औँल्याएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह सेप्टेम्बर २६ मा नेपाल फर्कने कार्यक्रम छ।