
मान सिंह धामी : जीवनका विभिन्न उकाली ओराली र घुम्तिहरु पारगर्दै यी माेडहरुमा जीवनलाई कतै ब्रेक त कतै मन्द गतिमा हाँक्दै जाने क्रममा आज फेरि एकचाेटी पछाडी फर्केर हेर्न तथा दु:ख र संघर्षमय जीवनलाई सम्झने मन लागिरहेकाे छ । कलिलाे फुच्चे उमेरमा कक्षा – १ मा पढ्दा काठकाे पाटीमा खरीले गुरुहरुले लेखिदिनु हुन्थ्याे र हामी निगालाकाे कलम द्वारा कमेराे (घर पाेत्न प्रयाेग गरिने सेताे माटाे) ले अक्षरहरु छाप्ने गर्थ्याैं । पाटीमा कमेराेले छापिएका अक्षरहरु अल्माेराे नामक हरियाे घाँस, जाैंकाे पात आदिले मेटाइन्थ्याे । पाटीलाई टलक्क टल्काउथ्याैं । कक्षा-२ देखि ५ कक्षा सम्म निगालाकाे कलम वा हाेल्डर पेनले कापीमा लेख्ने गरिन्थ्याे ।

मैले पनि कक्षा तीन सम्म निगालाकाे कलम र गाेटा स्याही (मसी) ले लेखेकाे स्मरण छ । त्यति बेला अहिलेकाे जस्ताे उज्यालाेकाे व्यवस्था थिएन । राती किताब पढनकाे लागि मट्टीतेल बाट बल्ने लैम्प प्रयाेग गरिन्थ्याे । मट्टीतेल पनि सहजै उपलब्ध हुदैनथ्याे । पैंसाकाे पनि निकै अभाव हुने गर्थ्याे । मट्टीतेलकाे जाेहाे गर्न नसकिएमा घिउमा दियाे बालेर पढ्ने गरिन्थ्याे । कतिपय समय त झाेराे (दियालाे) बालेर पनि पढिन्थ्याे । झाेराे बालेर पढ्नु पर्दा मेराे स्व. इजा ( आमा) ले रातकाे १२:०० बजे सम्म पनि झाेराे सल्काई उज्यालाे बनाई पढनमा सघाउनु हुन्थ्याे । मैले राती अबेर सम्म पढि रहदा उज्यालाे ननिभेकाे देखेर खुस्स बुवा मलाई हेर्न आउनु हुन्थ्याे । तर म पढि रहेकाे हुन्थे । धेरै रात भैसक्याे, सुत भनेर मायाले हकार्नु हुन्थ्याे । मायाले हकारेकाे म बुझ्ने भैसकेकाे थिए। मेरी इजा (आमा) महान हुनु हुन्थ्याे । बुवाले हिउँदका लामा रातहरुमा रामायण पढ्नु हुन्थ्याे र इजाले अर्थ्याउनु हुन्थ्याे । इजालाई रामायणकाे राम्राे ज्ञान थियाे । रामायणका धेरै कुराहरु मैले इजाबाट सिकेका कुराहरु अविस्मरणीय छन् ।
कहिलेकाहीँ त भाेलिपल्टकाे स्कुलकाे प्रतियाेगिता ( बादबिवाद, हिज्जे, प्रवचन, राजाकाे जन्माेत्सव) काे लागि तयारी गर्दैगर्दा बिहान उज्यालाे भैसकेकाे पनि मानसपटलमा ताजा स्मरण नै छ । गाउँमा कुनै १/२ परिवार बाहेक प्राय: सबैकाे अवस्था दयनीय नै हुन्थ्याे । ओढ्ने ओछ्याउने देखि लत्ता कपडाकाे समेत अभाव हुन्थ्याे । यसरी बचपनलाई सम्झदैगर्दा त्यति बेलाकाे खानपान र रहन सहनलाई पनि जाेडन चाहे । त्यति बेला गाउँघर तिर रुपयाँ पैसाकाे पनि निकै अभाव हुन्थ्याे । हुन पनि किन नहाेस त ! राेजगारधन्दा, व्यापार व्यवसाय केही थिएन । कहिं कतै सानाे तिनाे काम ज्याला मजदुरी गरे पनि न्यून पारिश्रमिक पाइन्थ्याे । प्रयः सबैकाे कृषि कार्य नै मुख्य पेशा हुन्थ्याे । घर परिवारका सबै मान्छेहरु कामकाे जिम्मेवारी बाँफाँड गरेर आ-आफ्नाे काममा तल्लिन हुन्थे । आय आर्जनकाे मुख्य स्राेत गाई भैसीबाट उत्पादित घ्यू नै हुन्थ्याे । कसै कसैले थाेरै धान, गहूँ, मकै जस्ता अन्नबाली बेचबिखन गर्ने गर्दथे ।

मलाई स्मरण छ ! प्राय: जसाे एक दुई किलाे घिउ कमै बेच्ने गर्दथे । यदाकदा जाैलजिबी मेलामा भने एक दुई किलाे घिउ लगेर मिठाई, ढिके नुन, मट्टीतेल आदि ल्याइन्थ्याे । त्यति बेला खानकाे लागि ढिके नुन नै प्रयाेग गरिन्थ्याे । घरमा नुन राख्ने सानाे भकारी हुन्थ्याे । अहिले पनि मेराे घरमा नुन राख्ने भकारी रहेकाे छ । मैले याे लेख लेख्दैगर्दा यहाँहरुलाई पक्कै पनि खुल्दुली लाग्न सक्छ कि याे लेख लेख्ने मान्छे ८०/१०० बर्षकाे बुढाे मान्छे हाेला भनेर ! तर म त्यति बुढाे मान्छे भने हाेइन है । त्यति बेलाका मेराे स्कुले जीवनका राेचक प्रसंगहरु यहाँहरु समक्ष पेश गर्ने प्रयास भने पक्कै गर्नेछु । गाई भैंसीबाट उत्पादित घिउ चाहिं टिनबाट निर्मित चाैथाई, अद्दी र कन्टरमा हालेर सिल लगाइन्थ्याे । त्यस ताका घिउकाे मूल्य एकदमै न्यून हुन्थ्याे । घिउ बेचेर आएकाे पैंसा बाट जहान परिवारकाे लागि लत्ताकपडा, नुन, तेल आदि ल्याइन्थ्याे । त्यति बेला वर्षकाे दुई चाेटीमात्र घर परिवारकाे लागि लुगा कपडा ल्याउने चलन थियाे । जाैलजिबीकाे भारतीय बजारमा कपडाका पसलहरू धेरै भए पनि कपडा किन्ने पसलकाे आडति (साथी/पसले) एउटै हुन्थ्याे । घिउ बेचेर प्राप्त भएकाे पैंसाबाट कपडा पसलेकाे पुरानाे हिसाब चुक्ता गरि नयाँ कपडा किन्दा उधाराे लेखेर आउँथे ।
धेरै जसाेकाे घरमा त बर्ष भरि खान पुग्ने अन्न पनि फल्दैनथ्याे । बेसा (अरु बाट किन्ने) गर्नु पर्ने हुन्थ्याे । बेसा गर्नु भनेकाे त्यति बेलाकाे बडाे लाज मर्दाे कुरा हुन्थ्याे । गाई भैंसीबाट उत्पादित दुध बिक्री गर्न बजारीकरण भैसकेकाे थिएन । हुन पनि हाे, सबैकाे घरमा गाई भैंसी भए पछि दुध कस्ले किन्ने ? लाेभ गरेर बचाएकाे घिउकाे पनि मूल्य न्यून हुने र त्याे पनि बिक्री गर्नकाे लगि घरबाट अढाई तीन घण्टा हिडेर जाैलजिबी बजार सम्म पुगाउनु पर्थ्याे ।
त्यति बेला अहिलेका बच्चाहरुकाे लागि जस्ताे टिफिन (खाजा) बाेक्ने ब्यवस्था थिएन । बिहान ९:०० बजे देखि दिउँसाे ४:३०-५-०० बजे सम्म भाेकले रन्थनिएर घरमा पुग्थ्याैं र खाना खाइपटि (खाएर) गीन (पुरानाे कपडा द्वारा निर्मित बल) खेल्न, राउण्ड टाइम, एथलेटिक्स, मुर्गाझपट ( दुबै हात पछाडी बाँधेर एक खुट्टा टेकि कुमले घचट्ने खेल), लाेडेमार, पिठ्ठु ( पाँच वटा गाेलाे ढुङ्गालाई पट्याई गीनले हिर्काउने खेल), लुकामारी, मुसा बिरालाे तथा कहिलेकाहीँ बाैद्धिक खेलहरु- शब्दार्थ (word meaning), गणित दाैड, चेस, बाघचाल आदि खेलहरु खेल्न जान्थ्याैं । यसरी साथीहरु संग खेल्दा बडाे आनन्दकाे अनुभूति हुन्थ्याे । खेलेर घरमा आइसकेपछि फाेंलाे (तामाकाे गाग्राे) बाेकेर टाढा पँधेराेबाट २/३ फाेंला पानी ल्याउनु पर्थ्याे ।अहिलेकाे जस्ताे घर घरमा पानीका धारा थिएनन्।साँझ चुल्हाेमा अागाे बाल्न झाेराे दरुँवा (दाउरा) काे जाेहाे गर्ने काममा सघाउनु पर्थ्याे। नुहाई धुवाई गर्न बास्ना आउने साबुन लिरिल, लक्स, मायालु साबुनकाे पनि अभाव रहन्थ्याे र पूजा साबुन, फरिस्ता साबुनले नै भए पनि काम चलाउनु पर्थ्याे कहिले काहीँ त। च्युउरीकाे पिना, ओखलमा रिठा कुटेर पुरानाे कपडाकाे काताे (टुक्रा) मा पुन्तराे बनाई कपडा धुन प्रयाेग गरिन्थ्याे त्यस ताका ।
अझ राेचक प्रसङ्ग त के छ भने हामी दाैंतरीहरू शनिबारका दिन , वर्षे विदामा गाईवस्तु चराउन गडानी, किरमडे जङ्गलतिर जाने गर्दथे । मैले स्कुल पढ्दा असार १५ गतेदेखि भाद्र १ गते सम्म विद्यालयमा वर्षे विदा हुन्थ्याे । वर्षातकाे समय भएकाेले गडानीका खाेलाहरू सुसाएका हुन्थे । विदा अवधिभर हामी स्कुलेहरूकाे दैनिकी वस्तुभाउ चराउँदै बिहान १०:०० बजेदेखि साँझ ४/५ बजेसम्म गडानी वन र आसपासका वनहरू जुगे खाेला, भद्वाडी, उतिसा पातल, नानी गडानी, किरमडे आदि ठाउँहरूमा वित्ने गर्दथ्याे । दमाैली ताल, भद्वाडी ताल हामी स्कुले ग्वालाहरूकाेलागि मुख्य आकर्षणका केन्द्र थिए । लख्खा जवान भैसक्दा पनि हाम्राे लाज कता हरायाे हाेला कुन्नी ! अहिले सम्झदा पाे लाज लागेर आउँछ । हामी नि:वस्त्र ती प्राकृतिक तालहरू विशेषगरि दमाैली ताल, भद्वाडी ताल, सिन्याडी तालमा लुकामारी खेल्ने गर्दथ्याैं । तालमा उत्तानाे परेर बाैं (पाैडी खेल्ने) काट्ने, नक, मुख, आँखा र कान बुढी औंला र चाेर औंलाकाे मद्दतले नाक र कान बन्दगरि लामाे समयसम्म पानी भित्र बस्ने खेल खेल्ने गरिन्थ्याे । यति मात्र हाेइन कि कहिलेकाहीँ हाम्राे खाना समेत वनमै पाक्ने गर्दथ्याे । अरु दाजु, अंकलभन्दा म उमेरले पनि फुच्चे र जुनियर कक्षामा पढ्ने विद्यार्थी भएकाेले पनि सिनियरहरूले अह्राएकाे कामभने गर्नु पर्थ्याे ।
ठुली गडानीकाे टुप्पाेमा पूर्वतिर हामी सबै ग्वालाहरू मिलेर कृत्रिम ताल समेत बनाउने गर्दथ्याैं । त्यही कृत्रिम तालमा मैले पनि अलिअलि बाैं काट्न जानेकाे अनुभूति गरेकाे थिए । तर जब म आफूलाई बाैं काट्न सिपालु सम्झने ठिटाे कक्षा – ११ मा जाेलजबी पढ्दा पाैडी खेल्ने क्रममा महाकाली नदीमा बगेर बल्लतल्ल ज्यान जाेगियाे, अनि म छाँगाबाट खसे झैँ भए र लुकलुक डिल (शरीर) काम्न थाल्याे । वनमा पाक्ने खानाकाे सन्दर्भ जाेड्दा के खाना पकाउने रहेछन् त भन्ने पाठकहरूकाे मनकाे खुलदुली तथा जिज्ञासामा घरबाट पालैपालो कसैले भाँडाकुँडा, कसैले नाैनी, कसैले तेल, कसैले गुडकाेभेल्ली, कसैले गहुँको ढिल्लाे वा पिठाे, कसैले चामल आदि ल्याउने पालाे मिलाएका हुन्थे । कहिलेकाहीँ लाउन, हलुवा त कहिले खिचडी समेत पाएर खाने गरिन्थ्याे । काेहि घरबाट मागेर लग्थे भने काेहि त चाेरेर पनि लग्ने गर्दथे । तर मैले चाहिँ कहिल्यै पनि चाेरेर लगेन । इजासँग विन्तिभाउ गरेमा सजिलै मेराे माग पुरा हुन्थ्याे ।

प्रसंग बदल्ने मन लाग्याे । कक्षा १ देखि ५ सम्म अहिलेकाे जस्तै प्राथमिक तह, कक्षा ६ र ७ नि.मा.वि. तह मानिन्थ्याे । कक्षा -७ मा बाेर्ड परीक्षा हुन्थ्याे। नि. मा. वि. तहमा अजन्ता (Ajanta pen) फाैनटिन (कलम) ले लेख्ने गर्थ्याैं । कक्षा -८ देखि १० सम्म माध्यमिक तह मानिन्थ्याे । हाइस्कुलमा पुगे पछि चाइनिज कलम र चेलपार्क स्याही (मसि) ले लेखिन्थ्याे । अक्षर अति सुन्दर बनाउने प्रयास गर्थ्याैं । अक्षर राम्राे बनाउने प्रतिस्पर्धा नै हुने गर्थ्याे साथीहरुकाे माझमा । पढाईमा धेरै मिहिनेत गरिन्थ्याे । आफ्नाे सुत्ने काेठाकाे भित्ता (उठदा, बस्दा, सुत्दा खेरि नजर पर्ने ठाउँ) मा गणितका सूत्रहरु, अंग्रेजी र विज्ञानका महत्वपूर्ण कण्ठस्थ गर्नु पर्ने कुराहरु टाढै बाट स्पष्ट देखिने गरि माटाेकाे गाराेकाे भित्तामा गहुँकाे पिठाे द्वारा निर्मित गुँद (गम) ले टाँस्ने (चिप्काउने) गर्थे । पढ्ने, लेख्ने, खेल्ने, मनाेरञ्जन गर्ने, खाने, सुत्ने समय तालिका बनाएर साेहि भिततामा टाँसेकाे हुन्थे । यसरी समय सारणीकाे आधारमा मेराे दैनिकी चलेकाे थियाे ।
शनिबार बिद्यालय छुट्टी भएकाे दिन वनमा गाईवस्तु, बाख्रा चराउन जानुपर्ने अनिवार्यता जस्तै हुन्थ्याे । वनमा पनि हातमा किताब बाेकेर गइन्थ्याे र फुर्सदकाे बेला किताब नै पढ्ने गर्दथे । जति अध्ययन गरे पनि किताबकाे किराे भने थिएन म ! अझ महत्वपूर्ण कुरा त भन्नै बिर्से छु । मैले पढ्ने बेलामा कैपिटल बाैण्ड कापी हुन्थे । उक्त कापीलाई ठिक बिच भागबाट ब्लेड (पत्ती) ले काटेर दुईवटा सानाे डायरी जस्ताे बनाइन्थ्याे । उक्त डायरीमा परीक्षामा आउन सक्ने महत्वपूर्ण कुराहरु लेखिन्थ्याे । सबै बिषयकाे नाेट कापी बनाउँथे।
स्कुलकाे हाफटाईम (Interval) मा हामी ४/५ जना साथीहरु खेल्न नगएर कक्षा काेठामा गणित र अंग्रेजी ग्रामर सम्बन्धी कुराहरुमा छलफल गर्थ्याैं । सरहरु र साथीहरुकाे माझमा म पनि एक अब्बल पढ्ने जान्ने बिद्यार्थीमा गनिएकाे थिए र थप हाैंसलाका साथ घरमा राती लैम्प, दियाे वा झाेराे बालेर भए पनि अबेर सम्म लेख्ने पढ्ने गरिन्थ्याे । एस. एल. सी. मा कक्षा ९ र १० बाट संयुक्त प्रश्नहरु साेधिन्थे । SLC पास गर्न अति कठिन हुन्थ्याे । जाे काेहि पास हुदैनथे । कठिन परिश्रमले गर्दा मैले सफलता पनि हासिल गरे । त्यति बेलाकाे गाेल्डेन गेट मानिने SLC पास गरे पछि आमा बुवा, घरपरिवारका मान्छे, आफन्तजन र इष्टमित्र सबै खुशी भए र मलाई स्याबासी दिएर थप हाैंसला प्रदान गरे । तत्पश्चात म आइ. एस्सी. (I.Sc.) पढ्न GIC जाैलजिबी भारत तिर लागे । अहिलेका बाबु नानीहरुकाे चाला देखेर, किन हाे किन कुन्नी ! उराठ लागेर आउँछ । बाँकि गन्थन अर्काेमा… यहाँ हरुबाट थप हाैंसला पाएमा बिगतका अनुभवहरु सेयर गर्ने नै छु ।
धन्यवाद !
मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैैलाली बहसमुखी क्याम्पस, धनगढी




























