
आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले कमजोर प्रदर्शन गर्दै आएको छ। खेलेका एकपछि अर्को खेलमा नेपालले पराजय भोगिरहेको छ। पछिल्ला ५ म्याचमा कुनै पनि खेलमा नेपालले जित बटुल्न सकेको छैन।

प्रतियोगिता अन्तर्गत गत फेब्रुअरीमा नेपालमै भएको ४ म्याच र गत सेप्टेम्बरमा क्यानडामा भएका ४ म्याचमा गरी जम्मा एउटा खेल मात्र नेपालले जितेको छ।

नेपालले आज खेल्न लागेको लिग-२ को दसौं खेल हो। अहिलेसम्म खेलिसकेको ९ खेलमध्ये ८ खेलमा नेपाल पराजित भएको छ। नेदरल्याण्ड्सलाई गत फेब्रुअरीमा ९ विकेटले पराजित गरेको थियो। त्यसयता लिग-२ को खेलमा नेपाल जितबिहीन छ।

लिग-२ खेल्ने आठ देशमध्ये नेपाल अंकतालिकामा सातौं स्थानमा छ।अमेरिका र स्कटल्याण्डसँग त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले २८६ रन बनाउँदा पनि आइतबार पराजित हुन पुगेको थियो। स्कटल्याण्डसँग पछिल्लो पाँच भेटमा नेपालले २ जित र ३ हारको नतिजा निकालेको छ।































