
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा एपिएफले घरेलु टोली सुदूरपश्चिमलाई ५९ रनले पराजित गरेको छ। खराब मौसमका कारण १८ ओभरमा छोट्याइएको खेलमा एपिएफले उत्कृष्ट प्रदर्शन गर्दै जित दर्ता गरेको हो।
एपिएफका लागि कप्तान इन्दु बर्माले शानदार अर्धशतकीय पारी खेल्दै टिमको जितको आधार तय गरिन्। उनले ४५ बलमा १० चौकाको सहायताले ५८ रन बनाइन् र प्लेयर अफ द म्याच घोषित भइन्। ममता चौधरीले नटआउट ३६ रन बनाउँदै महत्वपूर्ण साझेदारी गरिन् भने कविता जोशीले अविजित १३ रनको योगदान दिइन्। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले दुई विकेटको क्षतिमा १२६ रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। सुदूरपश्चिमका बलर जानकी थापाले मात्र एक विकेट लिन सफल भइन्, जबकि अन्य बलरले कुनै सफलता हात पर्न सकेनन्।
जवाफी ब्याटिङमा सुदूरपश्चिमले अपेक्षित प्रदर्शन गर्न सकेन। निर्धारित १८ ओभरमा ६ विकेटको क्षतिमा ६७ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि कबिता कुँवरले २९ रनको योगदान दिइन्, तर अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए। एपिएफका कप्तान इन्दु बर्मा र कविता जोशीले दुई–दुई विकेट लिए भने सबनम राईले एक विकेटको सफलता हात पारिन्।
एपिएफको बलियो प्रदर्शनले सुदूरपश्चिमको जित यात्रालाई रोक्न सफल भएको छ। इन्दु बर्माको कप्तानी र उत्कृष्ट प्रदर्शनले टिमलाई बलियो नेतृत्व प्रदान गर्यो, जसले प्रतियोगितामा एपिएफलाई एक प्रमुख दाबेदारको रूपमा उभ्याएको छ।
































