
अत्तरिया: प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यहरू, सुदूरपश्चिम इन्चार्ज तथा पत्रकारिता क्षेत्रका अग्रजहरूलाई लक्षित गरी २०८२ सालको अवसरमा अत्तरियामा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।

पत्रकारिता क्षेत्रमा सक्रिय अत्तरियाका पत्रकारहरूले स्वस्फूर्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा नयाँ वर्षको शुभकामनासँगै हालै निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई दिइयो। केही आमन्त्रित अग्रजहरूको व्यक्तिगत कारणवश अनुपस्थिति रहे पनि उनीहरूले शुभकामना सन्देशमार्फत आफ्नो साथ व्यक्त गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिम इन्चार्ज दिलबहादुर छत्याल र केन्द्रीय सदस्य सुशील ढुङ्गाना विशेष अतिथिका रूपमा सहभागी थिए। सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष मीन ठकुरीले पनि शुभकामना व्यक्त गरेका थिए। इन्चार्ज छत्यालले सुदूरपश्चिमको पत्रकारिता क्षेत्रमा विद्यमान समस्या र चुनौतीहरूबारे गम्भीर चिन्ता व्यक्त गर्दै समाधानका लागि संगठित रूपमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले पत्रकारिता क्षेत्रको सुधारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जाहेर गर्दै २०८२ सालको शुभकामना सन्देश व्यक्त गरे।


त्यसैगरी, गोदावरी क्षेत्रका समाजसेवी तथा राप्रपाका युवा नेता विराज बिष्टले पत्रकारहरूको योगदानको प्रशंसा गर्दै समाजका गतिविधि र समस्याको उजागर गर्न पत्रकारिताको भूमिका अतुलनीय रहेको बताए। पत्रकारिता पेशाका चुनौतीप्रति आफू सचेत रहेको उल्लेख गर्दै उनले सधैं पत्रकारहरूको पक्षमा उभिने अठोट दोहोर्याए।
कार्यक्रमले प्रेस चौतारी नेपालसहित अत्तरियामा क्रियाशील पत्रकारहरूलाई थप ऊर्जा प्रदान गरेको र यस्ता कार्यक्रमले आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने आयोजकहरूको विश्वास छ।































