
भारतको विदेश मन्त्रालयले यो वर्षको जनवरीदेखि अहिलेसम्म अमेरिकाबाट एक हजार भारतीय नागरिक स्वदेश फिर्ता पठाइएको जानकारी दिएको छ। बीबीसी हिन्दीका अनुसार, मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले विस्तृत विवरण नदिए पनि तीमध्ये झन्डै ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमार्फत फर्किएको बताए।

डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेपछि अवैध आप्रवासीहरूविरुद्ध कडा कदम चालिँदै आएको छ। यही नीति अन्तर्गत भारतका सयभन्दा बढी नागरिकलाई फेब्रुअरीमा अमेरिकी सैन्य विमानबाट भारत पठाइएको थियो।

अनुमान अनुसार झन्डै १८ हजार भारतीय नागरिक हाल अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका छन्। यसैबीच, भारतस्थित अमेरिकी दूतावासले तोकिएको अवधि नाघी बस्नेहरूलाई देश निकाला हुन सक्ने चेतावनी दिएको छ। साथै, यस्ता व्यक्तिहरूलाई भविष्यमा अमेरिका प्रवेशमा स्थायी प्रतिबन्ध लगाउन सकिने उल्लेख गरिएको छ।




















