
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, कागेश्वरी मनोहरा नगरपालिका–८ को नवतनधाम, बूढानीलकण्ठस्थित इस्कोन कार्यालय परिसर लगायत काठमाडौँका विभिन्न कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ। वसन्तपुर दरबार, पशुपति क्षेत्र र उपत्यकाका अन्य तीर्थस्थलमा समेत पूजा, आराधना, भजन–कीर्तन र व्रत बसेका छन्।
भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको विश्वास गरिन्छ। त्यसैले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। भक्तजनहरूले पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने प्रचलन छ।


अन्याय, अत्याचार र दुष्ट प्रवृत्तिबाट मानवताको रक्षा गर्न जन्मिएका श्रीकृष्णले जीवनभर सत्य र सत्कर्मको मार्गदर्शन गरेका थिए। श्रीमद्भागवतगीता मार्फत अर्जुन र मानवतालाई शिक्षा दिएका उनले बाल्यकालदेखि नै विभिन्न लीला प्रदर्शन गर्दै कंश, शिशुपाल, जरासन्धजस्ता दुष्टहरूको नाश गरेका थिए।
आज उपत्यकामा रथयात्रा र शोभायात्रासहित उत्सव मनाउने चलन छ। अष्टमीको मध्यरातमा जन्म भएकाले भाद्रकृष्ण नवमीका दिन रथयात्रा आयोजना हुने गरेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए।
































