
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भैरहवाबाट काठमाडौं उडेका छन्। बुद्ध एयरको विमानमार्फत उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ललितपुरस्थित नख्खु कारागारमा लगिने व्यवस्था गरिएको छ।

उनको कारागार स्थानान्तरणको खबरसँगै नख्खु कारागार वरिपरि रास्वपा समर्थकहरू जम्मा हुन थालेका छन्।

लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गते रुपन्देही कारागारमा राखिएको थियो। कारागार व्यवस्थापन विभागको निर्णयअनुसार आज उनलाई नख्खु कारागारमा सारिँदैछ।

रवि लामिछानेले यसै वर्ष जेठमै नख्खु कारागारमा सरुवा गरिनु पर्ने निवेदन दिएका थिए। अदालतले जेठ १६ गते उक्त सरुवाका लागि अनुमति प्रदान गरेको थियो। यसका कारण भैरहवा कारागार अगाडि रास्वपा नेता तथा कार्यकर्ताको पनि ठूलो भीड देखिएको थियो।






























