
एशिया कपअघि यूएईमा सम्पन्न त्रि–देशीय सिरिजको उपाधि पाकिस्तानले जितेको छ। अफगानिस्तानविरुद्ध भएको फाइनलमा पाकिस्तान ७५ रनको ठूलो अन्तरले विजयी बन्यो।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४१ रनको योगफल तयार गर्यो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन, मोहम्मद नवाजले २५ रन र कप्तान सलमान आगाले २४ रन जोडे।
१४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान मात्र १५.५ ओभरमै ६६ रनमा समेटियो। कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक अन्य कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सकेनन्।


पाकिस्तानका नायक मोहम्मद नवाजले शानदार बलिङ गर्दै चार ओभरमा १९ रन खर्चेर पाँच विकेट लिए। अब्रार अहमद र सुफियान मुकिमले दुई-दुई विकेट हात पारे।
अफगानिस्तानका लागि राशिद खानले तीन विकेट झारे भने फजलहक फारुकी र नुर अहमदले दुई-दुई विकेट लिए।
चार खेलको सिरिजमा पाकिस्तान र अफगानिस्तानले समान तीन-तीन जित निकाल्दै फाइनलमा प्रवेश गरेका थिए। घरेलु मैदानमा खेल्दै यूएईले प्रतिस्पर्धात्मक प्रदर्शन गरे पनि जित निकाल्न सकेन। समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग मात्र चार रनले पराजित भएको यूएईका लागि यो अनुभव आगामी एसिया कप तयारीमा महत्वपूर्ण बन्नसक्ने देखिन्छ।

















