
यूएईमा जारी नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा नेपालले हङकङलाई १ सय १९ रनले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्न सफल भयो।

अजमानस्थित सेभेन ड्रिस्ट्रिक मैदान २ मा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनाएको थियो। जवाफमा हङकङले ४०.५ ओभरमा १ सय ५१ रनमा अलआउट भएको थियो।

यस अघि नेपालले सोमबार साउदी अरेबियालाई ८ विकेटले हराएको थियो। अब नेपाल सेमिफाइनलमा समूह ‘डी’ को विजेता मलेसियासँग भिड्नेछ। मलेसियाले समूह ‘डी’ मा सिंगापुर, थाइल्यान्ड र इरानलाई हराउँदै शीर्ष स्थान हासिल गरेको थियो।

अर्को सेमिफाइनल यूएई र ओमानबीच हुने छ। दुवै सेमिफाइनल खेल शनिबार सम्पन्न हुनेछ। नेपालले अबको सेमिफाइनलमा विजयी भई फाइनलमा पुग्ने लक्ष्य राखेको छ। यस जितसँगै नेपाली यू–१९ क्रिकेट टोलीको प्रदर्शनले उत्साहित समर्थकहरूमा उत्साह थपेको छ।






























