
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)द्वारा पहिलो पटक आयोजना गरिएको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट बङ्गालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा इस्ट बङ्गालले नेपालको एपिएफ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि हात पारेको हो।

इस्ट बङ्गालको जितमा कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने शिल्कीदेवी हनामले एक गोल थपिन्। खेलको २२औँ मिनेटमा इक्वापुटले गोल गर्दै टोलीलाई अग्रता दिलाइन्। त्यसपछि ३५औँ मिनेटमा शिल्कीदेवी हनामले हेडमार्फत दोस्रो गोल गरिन्। दोस्रो हाफको सुरुआतमै इक्वापुटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरिन्।

मङ्सिर १९ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा नेपाल र भारतसहित पाकिस्तान, बङ्गलादेश र भुटानका क्लबहरूको सहभागिता रहेको थियो।
































