
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। यस प्रणालीको असरका कारण तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ, जसले जनजीवन र यातायातमा सामान्य असर पारेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बादल लागेको छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।


त्यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुन सक्ने सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा हुस्सु कायम रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
































