आमा—मौनको भीडमा हराउँदा तिम्रो नामले जोगायो

Image
Nisarga Hospital

आमा, तिमी मेरो प्राण हौ। यो संसारको भीडमा जब सबै अनुहार अपरिचित बन्छन्, तिम्रो सम्झनाले मात्र मलाई चिनाउँछ— “तिमी एक्लो होइनौ” भनेर। आज म भीडमै हराएको छु। चारैतिर आवाज, हाँसो र चलहपहल छन्, तर मेरो मन एकान्तको कोठामा बन्द छ। बोल्न खोज्दा शब्दहरू घाँटीमै अड्किन्छन्, र “म छु” भनेर भनिसक्दा सुन्ने कानहरू टाढा भइसकेका हुन्छन्।
कहिलेकाहीँ लाग्छ, मेरो अस्तित्व नै कसैका लागि बोझ भयो कि? हाँसो कसैले देख्दैन, आँसु कसैले सुन्दैन। आफ्नै भनेर समातेका हातहरू आज किन यति टाढा भए? “हामी छौँ” भन्नेहरू किन मौन भए? पीडा पोख्न खोज्दा मान्छेहरू व्यस्त देखिन्छन्, र दुःखलाई ठट्टा ठानेर अघि बढ्छन्। त्यतिबेला बुझिन्छ— सुखमा भीड लाग्छ, दुःखमा छायाँ पनि डराउँछ।
आमा, मैले सबैलाई मतलब गरेँ, तर आज कसैले मलाई हेरेन। भित्रभित्रै चिच्याइरहेँ, तर बाहिरको आवाज हावामै हरायो। मान्छेहरू नजिकै थिए, मनले सबै टाढा। आज म मौनको भीडमा हराएँ।
आज–भोलि बुझ्दैछु— कोही कसैको हुँदैन रहेछ। आफ्नो भनिएकाहरू पनि आफ्नै दुनियाँमा हराउँछन्। कसैले सोधेन, “तिमी कस्तो छौ?” कसैले भनिन, “म सुन्दैछु।” म बलियो देखिन खोजेँ, तर भित्र सबै भत्किएको थियो। हाँसो आफैँलाई ढाँट्ने प्रयास मात्र बन्यो।
त्यतिबेला तिमी सम्झिएँ, आमा। तिमी हुन्थ्यौ भने शब्द नबोली पनि सबै बुझ्थ्यौ। आज तिम्रो अभाव झन् गहिरो भएर चसक्क घोच्यो। तर तिमी कहिल्यै टाढा भयिनौ। यहाँ नभए पनि तिम्रो माया मेरो काँधमा हात बनेर बसेको छ। म थाकेको छु, भत्किएको छु, तर हार मानेको छैन— किनकि तिमीले मलाई हार मान्न सिकाएकी छैनौ। संसारले नहेरे पनि तिमीले कहिल्यै छोडिनौ। यही विश्वासले आज पनि म बाँचिरहेको छु— आमा, तिमीले मलाई बाँच्न सिकाएकी छौ।
भिम बहादुर खड्का
त्रिभुवन विश्वविद्यालय
व्यवस्थापन संकाय

CP Hospital Dhangadhi
Attariya Hospital
Advertize US