
इरानमाथि भएका हालिया आक्रमणपछि बढ्दो तनावका बीच अमेरिकाले आफ्ना व्यापारिक जहाजहरूलाई खाडी क्षेत्रबाट टाढा रहन कडा चेतावनी जारी गरेको छ। अमेरिकी यातायात मन्त्रालयअन्तर्गतको सामुद्रिक प्रशासनले स्ट्रेट अफ हर्मुज, ओमानको खाडी र अरब सागर क्षेत्रमा उल्लेखनीय सैन्य गतिविधि भइरहेको जनाएको छ।

सुरक्षा जोखिम उच्च रहेको भन्दै सम्भव भएसम्म व्यापारिक जहाजहरूलाई ती जलमार्गबाट टाढा रहन सुझाव दिइएको छ। विशेष गरी अमेरिकी झण्डा बोकेका, अमेरिकी स्वामित्वमा रहेका वा अमेरिकी चालक दल भएका जहाजहरूलाई अमेरिकी सैन्य पोतबाट कम्तीमा ३० समुद्री माइल (करिब ५६ किलोमिटर) दूरी कायम गर्न निर्देशन दिइएको छ। अन्जानमा खतरा ठानी आक्रमण हुनसक्ने जोखिम न्यूनीकरण गर्न यस्तो कदम चालिएको जनाइएको छ।

यसैबीच कतारको यातायात मन्त्रालयले पनि आफ्नो समुद्री क्षेत्रमा आवागमन अस्थायी रूपमा स्थगित गरेको घोषणा गरेको छ। मध्यपूर्वमा बढ्दो सैन्य सक्रियतासँगै अन्तर्राष्ट्रिय जलमार्गहरूको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको छ।
































