
प्यारो परिवार,

आज यहाँ खाडीको आकाश रातो छ। तर यो रङ्ग सन्ध्याकालीन सूर्यको होइन, बारुद र मिसाइलको हो। झ्याल बाहिर आगोका गोलाहरू बर्सिरहेका छन्, अनि झ्याल भित्र म तिम्रो तस्बिर अँगालेर बाँचिरहेको छु।
म यहाँ रहरले आएको थिइनँ। देशमा रोजगारी हुन्थ्यो भने, हाम्रा नेताहरू भ्रष्टाचारको खेल छोडेर युवाको भविष्यप्रति इमानदार भइदिएका भए, आज म यो युद्धको भुमरीमा हुने थिइनँ। विडम्बना! हामीले पठाएको पसिनाको ‘रेमिट्यान्स’ले देश चल्छ, तर त्यही देशले हामीलाई आफ्नै काखमा गरिखाने एउटा सानो अवसरसम्म दिन सकेन। आज मलाई लाग्दैछ, हाम्रो सपना र पसिना कतै यो युद्धको आगोले सधैँका लागि निल्ने त होइन?

आमा, तिम्रो हातको टीका र बाको आर्शिवाद मेरो मुटुको धड्कन बनेर बसिरहेको छ। छोराछोरीको भविष्य उज्ज्वल बनाउन म यहाँ यो मरुभूमिमा जलिरहेँ, तर आज मरुभूमि आफैँ जलिरहेको छ।

यदि परिस्थिति अझै बिग्रियो भने, र यो मेरो अन्तिम सन्देश भयो भने, सम्झिनु— तिम्रो छोरा, तिम्रो श्रीमान्, तिम्रो बाबाले अन्तिम साससम्म तिम्रै सुखको लागि संघर्ष गरेको थियो। म बाचेँ भने त फेरी भेटौँला, अँगालोमा रोउँला, खुसी साटौँला। तर नियतिले साथ दिएन भने, मलाई यही परदेशको माटोमा कतै खोज्नु।
मेरो देशका भ्रष्ट शासकहरूलाई मेरो एउटै प्रश्न छ— तिम्रो कुर्सी त टिक्यो होला, तर कतिन्जेल हाम्रा लासहरू बाकसमा भित्र्याएर देश चलाउँछौ?
सधैँ तिम्रै सम्झनामा,
तिम्रो परदेशी






























