
प्रधानमन्त्री बालेन्द्र शाहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। स्रोतका अनुसार आज अपराह्न ३ बजे शपथ ग्रहण गराउने तयारी स्वरूप प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रपति कार्यालयलाई आवश्यक तयारी गर्न जानकारी गराइसकेको छ।

गुरुङले आफ्नो सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनको सम्पत्ति विवरणबारे अध्ययन गर्न छानबिन समिति गठन गरेको थियो। समितिले बुझाएको प्रतिवेदनमा गुरुङको सम्पत्तिमा कुनै कैफियत नदेखिएको निष्कर्ष निकालिएपछि उनलाई पुनः गृहमन्त्रीमा फर्काउने तयारी गरिएको हो।

आज बसेको मन्त्रिपरिषद् बैठकले गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ। यद्यपि सरकारका प्रवक्ता सस्मित पोखरेलले भने मन्त्रिपरिषद्ले अहिलेसम्म गुरुङलाई पुनर्नियुक्त गर्ने निर्णय नगरेको स्पष्ट पारे। उनले प्रतिवेदन अध्ययनपछि मात्रै आवश्यक निर्णय हुने बताएका छन्।

छानबिन समितिका स्रोतका अनुसार गुरुङको नाममा धनकुटाबाहेक अन्यत्र जग्गा फेला परेको छैन। समितिले मालपोत कार्यालयबाट समेत विवरण मगाएर अध्ययन गर्दा धनकुटामा १९ रोपनी १५ आना जग्गा मात्रै उनको नाममा रहेको पुष्टि भएको जनाएको छ। गुरुङले गोरखा, चितवन र धनकुटाका सम्पत्तिसमेत विवरणमा उल्लेख गरेका थिए।
































