
बा आमाले सबै त्यागे हुर्काउने कर भयो,
छोरा छोरी पाल्न परदेशको सफर भयो।
आज छोरा छोरी हुर्केपछि के भयो मित्र,
आफै उपचार बिना मरिन्छ की डर भयो।
बा आमालाई घुम्ने समयनै मिलेन साथि,
जिन्दगीभरी कता केछ खै वेखबर भयो।
हिंजो शरिरको रगत बिक्री गर्यो उसैले,
आज उनैको तुच्छ बचनको असर भयो।
आमा अब छोरा,छोरा रहेन भएछन् बा,
हो अचेल आफैपनि उनैमा निर्भर भयो।
हालचाल नसोध्नु साठि काटेपछा मित्र,
मुहार उज्यालो तर आखामा समुद्र हुन्छ।

॥१॥
मेरो मुटु कांपिरहेछ प्रलयका लाश देखेपछि,
हजारौं नागरिकले गुमाएको बास देखेपछि।
चन्द्र सूर्य उदाएपनि अंधकार झैं लाग्छ यहा,
कसरी पलाउंथ्यो आस यो तमास देखेपछि।
गनगनाएका हुन्छन् सधैं मेरा आसेपासे हरू,
अंध्यारो अनुहार आफूलाई उदास देखेपछि।
मर्नेहरू मरेर गए सङ्गै जान कसले सक्छ र,
अरूलाई जोगाउन हिंडेको सहास देखेपछि।
चक्र आउन थाल्यो मुटू पिरो भयो आफ्नो,
अर्कैको गल्तीले देशकै सत्यानास देखेपछि।
बाचेकाहरू फेरी उठ्नुको विकल्प छैन यहा,
उदाउछ सूर्य चन्द्र फेरी केही खास देखेपछि।

॥२॥
बम बारूदको तुंवालो सहरभरी फैलियो,
बढ्यो तापक्रम हिमाल मनपरी फैलियो।
कसैलाई गाली गर्दैमा समस्या टुङ्गिदैन,
यस्तैमा खै किन यो बर्षे झरी फैलियो।
यो भदौरे झरीले भन्दा प्रकृतीको कहर,
प्रत्येक वर्ष यही महिन बेस्सरी फैलियो।
दुश्मन् पनि हाम्रै देशमा लाग्छ कुद्रतनी,
अनहाकमै धार्मिक चटक धरी फैलियो।
वैज्ञानिकले पनि खोज गरौं किन हुन्छ,
यस्तो कहर यो देशमा घरिघरी फैलियो।

॥३॥
ऊ गद्धार थियो वा बफादार थाहा हुनसकेन,
सहि थियो वा झुट समाचार थाहा हुनसकेन।
घाउमा मलम लगाउन आउछ वेला वेलामा,
आवरणभित्र के छ उपहार थाहा हुनसकेन।
सारा देश रोएकै छ असङ्ख्य मृतक देशमा,
यस्को कस्तो हुनेहो आधार थाहा हुनसकेन।
भोटे कोशीमा आएको बाढीले दुनिया रोयो,
कसरी होला अब बेडापार थाहा हुनसकेन।
ठिक होइन यस्तोवेलामा पनि राजनीति गर्छौ,
के गर्यौ पिडितलाई उपकार थाहा हुनसकेन।
लोभपनि कति गर्छौ एकदिन मर्छौं हामि सबै,
कुनै छैन कतै अद्मरी औतार थाहा हुनसकेन।
॥४॥
दुर देश जाने कसलाई पो रहर हुन्छ,
जहा बालक पाल्न सबैलाई कर हुन्छ।
देशमा छैन काम खोज्नु छ जिउन सबै,
आखाभरी आसु सपनाको सफर हुन्छ।
गरिब जिउन की मरून सरोकार नहुदा,
भन्नुनै पर्छ घाउको कस्लाई असर हुन्छ।
नेपाली भएर जिउन कति कठिन भयो,
जहा पनि मृत्युकै नजिक वेखबर हुन्छ।
पसिना बगाउ छ अर्कैको लागि आफैले,
प्राणनै दिएता पनि उसको वेकदर हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























