सावधानः कतै तपाईलाई बैदेशिक रोजगारीमा पठाईदिन्छु भनी ठगी गरेको त छैन ?

Image
Nisarga Hospital

लेखक– गोविन्द जोशी

CP Hospital Dhangadhi

नेपालका गाउँदेखि सहरसम्म एउटा दृश्य अहिले पनि उस्तै छ। कुनै घरमा छोरा जापान जाने तयारीमा छ, कतै श्रीमान् कतारको उडान पर्खिरहेका छन्, कतै छोरी केयरगिभर बन्न युरोप जाने सपना देखिरहेकी छन्। विमानस्थलमा विदाइका बेला आँखा रसाउँछन्, तर मनमा एउटा आशा हुन्छ—विदेश पुगेपछि जीवन बदलिनेछ।यही आशाले हरेक वर्ष हजारौं नेपालीलाई आफ्नो घर, परिवार र जन्मभूमिबाट टाढा पुर्‍याइरहेको छ। सीमित रोजगारी, न्यून आय, बढ्दो महँगी र राम्रो भविष्यको खोजीले वैदेशिक रोजगारलाई धेरै नेपालीका लागि बाध्यता पनि बनाएको छ र अवसर पनि। विदेशबाट आएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई टेवा दिएको छ भने लाखौं परिवारको चुल्हो पनि यही आम्दानीले बलेको छ।

कसैले जीवनभरको कमाइ म्यानपावर कम्पनीलाई बुझाउँछन्, तर भिसा आउँदैन। कसैले बैंकबाट ऋण निकालेर विदेश जाने तयारी गर्छन्, तर अन्तिम समयमा आफू ठगिएको थाहा पाउँछन्। कतिपय विदेश पुग्छन्, तर नेपालमा देखाइएको कम्पनी, तलब र काममध्ये कुनै पनि कुरा वास्तविकतासँग मेल खाँदैन। अझ कतिपय नेपाली श्रमिक विदेशी भूमिमा अलपत्र पर्छन्, राहदानी रोजगारदाताको नियन्त्रणमा हुन्छ र उनीहरू आफ्नो अधिकार प्रयोग गर्नसमेत असमर्थ हुन्छन्। यस्ता घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्—वैदेशिक रोजगारी जोखिमपूर्ण हो कि जोखिम त्यसको नाममा हुने ठगीमा छ ?

nawajiwan

सामान्य रूपमा हेर्दा वैदेशिक रोजगार भनेको नेपालबाट रोजगारीका लागि अर्को देशमा गएर काम गर्नु हो। तर कानुनी दृष्टिले हेर्ने हो भने यो एउटा व्यवस्थित प्रक्रिया हो, जसलाई वैदेशिक रोजगार ऐन, २०६४ ले नियमन गरेको छ। विदेश जान चाहने व्यक्तिले इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी, वैध रोजगार सम्झौता, श्रम स्वीकृति, भिसा, बीमा र अन्य कानुनी प्रक्रिया पूरा गर्नुपर्छ। यी प्रक्रिया केवल औपचारिकता होइनन् श्रमिकको सुरक्षा सुनिश्चित गर्ने आधार हुन्।

समस्या त्यतिबेला सुरु हुन्छ, जब केही व्यक्तिले यही प्रक्रियालाई छोटो बनाउने नाममा युवाको सपनालाई व्यापार बनाईरहेका छन् । आज वैदेशिक रोजगारसम्बन्धी ठगीको स्वरूप बदलिएको छ। अहिले फेसबुक, टिकटक, ह्वाट्सएप र अन्य सामाजिक सञ्जालमा आकर्षक विज्ञापन राखिन्छ। “जापान तुरुन्त”, “युरोपमा मासिक तीन लाख तलब”, “भिसा निश्चित”, “सिट सीमित” जस्ता सन्देशले धेरैलाई आकर्षित गर्छ। उक्त विज्ञापनकै आधारमा मानिसहरुले विश्वास गरेर बैदेशिक रोजगारीका लागि रकम दिने गरेका छन् ।

अझ चिन्ताको विषय के छ भने धेरै पीडितहरू आफू ठगिएको थाहा पाएपछि पनि उजुरी गर्न हिच्किचाउँछन्। कसैले सामाजिक लाजका कारण चुप लाग्छन्, कसैले “अब पैसा फर्किन्न” भन्ने सोच बनाउँछन्, त कसैले कानुनी प्रक्रियाबारे जानकारी नहुँदा मौन बस्छन्। यही मौनताले ठगी गर्नेहरूलाई अझ निर्भीक बनाउने काम गर्छ।

Attariya Hospital

तर कानुनले पीडितको अधिकारलाई मान्यता दिएको छ। यदि कसैले वैदेशिक रोजगारको नाममा झुट्टा आश्वासन दिएर पैसा लिएको छ, इजाजतपत्र बिना विदेश पठाउने प्रयास गरेको छ, सम्झौताविपरीत काममा पठाएको छ वा तोकिएकोभन्दा बढी रकम असुलेको छ भने त्यो वैदेशिक रोजगारसम्बन्धी कसूर हुन्छ । यस्ता घटनामा पीडितले सम्बन्धित निकायमा उजुरी दिन सक्छन्। पैसा बुझाएको रसिद, बैंक भौचर, रोजगार सम्झौता, मोबाइलमा भएका कुराकानी, भिसा तथा अन्य कागजातहरूमा बैदेशिक रोजगार सम्वन्धीको कुरा हुन आवश्यक छ र यस्ता कुराहरु उजुरीमा महत्वपूर्ण प्रमाण बन्छन्।

विदेश जानुअघि इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउने, कुनै पनि रकम बुझाउँदा आधिकारिक रसिद लिने, रोजगार सम्झौताको प्रत्येक बुँदा पढ्ने, श्रम स्वीकृति बिना विदेश नजाने र सामाजिक सञ्जालमा देखिएका विज्ञापनका आधारमा तत्काल विश्वास नगर्ने जस्ता सामान्य सतर्कताले ठूलो क्षतिबाट जोगाउन सक्छ।आजको डिजिटल युगमा ठगी गर्ने शैली पनि आधुनिक बनेको छ। सामाजिक सञ्जालमा फैलाइएका भ्रमपूर्ण विज्ञापन र आफूलाई विदेशी कम्पनीको प्रतिनिधि भनेर चिनाउने व्यक्तिहरूले धेरैलाई भ्रममा पारिरहेका छन्।

समस्या वैदेशिक रोजगारमा होइन । समस्या कानुनविपरीत सञ्चालन हुने प्रक्रिया, गलत सूचना र केही व्यक्तिको बेइमानीमा छ।

त्यसैले सपना देख्नु अधिकार हो, तर त्यो सपना सुरक्षित बनाउने जिम्मेवारी पनि आफ्नै हो। कानुनी प्रक्रिया केही लामो हुन सक्छ, तर त्यही प्रक्रिया भविष्यको सुरक्षा पनि हो। आज वैदेशिक रोजगार केवल आर्थिक अवसरको विषय होइन, नागरिकको अधिकार, कानुनी सचेतना र राज्यको जिम्मेवारीसँग जोडिएको विषय हो।

यदि वैदेशिक रोजगारमा जाने क्रममा आफू ठगिएको महसुस भयो भने वैदेशिक रोजगार ऐन, २०६४ ले पीडितलाई कानुनी उपचार खोज्ने अधिकार दिएको छ। कसैले विदेश पठाइदिने भन्दै झुट्टा आश्वासन दिएर रकम असुलेको, सम्झौताविपरीत काम वा तलबमा पठाएको, इजाजतपत्रबिनै वैदेशिक रोजगारको कारोबार गरेको वा अन्य कुनै प्रकारको ठगी गरेको अवस्थामा पीडितले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं मा उजुरी दर्ता गर्न सक्छन् भने त्यस्तै, आफू रहेको स्थानबाटै नजिकको प्रहरी कार्यालयमा गई घटनाबारे जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पनि सकिन्छ। वैदेशिक रोजगारसम्बन्धी कसूरको प्रकृति अनुसार सम्बन्धित निकायले उजुरी दर्ता गरी अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने व्यवस्था कानुनले गरेको छ। त्यसैले ठगीको सिकार भएमा डर वा लाजले मौन बस्नुभन्दा आफूले बुझाएको रकमको रसिद, बैंक भौचर, रोजगार सम्झौता, राहदानीका प्रतिलिपि, मोबाइलमा भएका सन्देश तथा अन्य प्रमाण सुरक्षित राखी समयमै सम्बन्धित निकायमा उजुरी दिनु नै आफ्नो अधिकारको संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।