सातौं राष्ट्रिय धाम शैल्यशिखर मालिकार्जुनको संक्षिप्त इतिहास

Image
Nisarga Hospital

दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका वडा नं.-३ मडमा मालिकार्जुन स्वामी बिराजमान हुनु हुन्छ । मालिकार्जुनकाे बारेमा चित्रण गर्दै गर्दा मालिकार्जुन काे हुन ? मालिकार्जुनकाे नाम कसरी रहन गयाे भन्ने जिज्ञासा पाठकलाई हुनु स्वभाविक नै हाे । पाठककाे जिज्ञासालाई ध्यानमा राखी मालिकार्जुन नाम कसरी रहन गयाे भन्ने कुरा याे लेखमा समेट्नु सान्दर्भिक हाेला जस्ताे लाग्छ । साथै अहिले हरेलाे पर्वकाे सन्दर्भ समेतलाई ध्यानमा राखी मालिकार्जुनकाे संक्षिप्त परिचय संप्रेषण गर्ने अनुमति चाहन्छु ।

CP Hospital Dhangadhi

स्कन्द पुराणमा अर्जुन पर्वतकाे बारेमा उल्लेख गरेकाे पाइन्छ । हालकाे महाकाली नगरपालिका अन्तर्गत दत्तु र धापकाे टुप्पाे, मालिकार्जुन गाउँपालिका अन्तर्गत मडकाे टुप्पाे र शैल्य शिखर नगरपालिका अन्तर्गत ग्वानीकाे चुचुराे (टुप्पाे) शिखर रहेकाे करिब १२/१५ कि.मी. काे दूरीमा फैलिएकाे लामाे नागबेली आकारका बलशिखर, न्वालपानी, माैतामाैती समेतका शिखरहरुकाे मिश्रित रुप नै पाैराणिक अर्जुन पर्वत हाे । यस्ता पाैराणिक घटना र हालकाे अवस्थितिले पाैराणिककालमा यस क्षेत्रमा मानव बसाेबास क्षेत्र रहेकाे र ऋषिमुनीहरुकाे तपाेभूमि र देवताहरुकाे निवास स्थलकाे रुपमा देवभूमि रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । भगवान शिव मालिकार्जुन अवतारकाे रुपमा यस क्षेत्रमा बिराजमान रहेकाे कुरा स्कन्द पुराण मानसखणडले पनि पुष्टि गरेकाे छ । यस पर्वतमा शिवरुपी अर्जुनले बास गरेकाेले यस पर्वतलाई अर्जुन पर्वत भनियाे । यसै पर्वतमा मालिकादेवी रुप पार्वतीकाे समेत बास भएकाेले अर्जुन र मालिकाकाे याेगले यस क्षेत्रलाई मालिकार्जुन भनिएकाे हाे ।

मालिकार्जुन मन्दिरकाे बारेमा वर्णन गर्दै गर्दा पूर्णागिरी माता मन्दिरकाे झझल्काे आइरहेकाे छ । पूर्णागिरी माताकाे दर्शन गर्न जाँदा जति उचाई चढ्नु पर्छ, सायद मडबाट अर्जुन पर्वत (शैल्यशिखर पर्वत धुरा) पुग्न पनि उतिनै दूरी र समय लाग्छ हाेला । हाम्राे परम्परागत धार्मिक मान्यता अनुरुप औल्लेकीहरूले शैल्यशिखर पर्वतमा दर्शनार्थी भएर जानू हुदैन भन्ने मान्यता रहेकाे छ । मडमा अवस्थित मालिकार्जुन मन्दिरबाट करिब दुई अढाई घण्टाकाे पैदल यात्राकाे उचाई पार गरेपछि शैल्यशिखर धाम शिखर धुरामा पुगिन्छ । तथापि मैले भने शैल्य शिखर धाम शिखर धुराकाे दर्शन गर्ने अवसर जुराउन सकेकाे छैन । द्वितीय ज्योतिर्लिङ्गको मालिकार्जुनको अवतारी मूल स्थापना दक्षिण भारतको आन्ध्र प्रदेश राज्यको श्री शैल भन्ने ठाउँमा भएको शिव पुराणबाट पुष्टि भएको पाइन्छ ।

nawajiwan

त्यहाँबाट सौराष्ट्र प्रदेश हुदै कत्युर, गडवाल, कुमाऊँ हुँदै दार्चुलातिर आएको मालिकार्जुन भक्ति गाथामा वर्णन गरेकाे पाइन्छ । भारतमा भइरहेको धार्मीक हिंसाका वेला भारतका विभिन्न ठाउँबाट धर्म रक्षाका निम्ती त्यँहाका हिन्दुहरू एक ठाउँवाट अर्को ठाउँमा स्थानान्तरण हुँदै गए । स्थानान्तरण हुदै जाने क्रममा भारतका विभिन्न ठाउँबाट भारतीय हिन्दुहरू आफ्नो इष्टकुलसहित नेपाल प्रवेश गरेको तथ्य मालिकार्जुनकाे भक्तिगाथाहरुबाट स्पष्ट हुन्छ । धर्म रक्षा र जीवन रक्षाका क्रममा श्री शैल्य मालिकार्जुन शिवलिङ्ग र शालीग्रामका साथ भारतका विभिन्न ठाउँ हुँदै अभयराज पाण्डेय, निमनाथ योगी, भिमराज भट्ट, धाराधिरा पहलवान र सुरदास औजी दार्चुलाको हालकाे लेकम गाउँपालिका अन्तर्गत रिठाचौपाताकाे जाइझुल भन्ने ठाउँमा बास बसेको श्रुति छ । त्यही शिवलिङ्ग स्थापित गरी अभयराज पाण्डेयले मालिकार्जुनको पूजन गरेको भन्ने मालिकार्जुनकाे झाेडाेमा उल्लेख छ ।

श्री शैल्य मालिकार्जुन हिमालय एवं पर्वतीय रमणिय स्थलहरू खोजी गर्दै हिड्ने क्रममा दुँहुको हुतिमा समेत बास बसेको मालिकार्जुनकाे भक्तिगाथाहरुमा उल्लेख गरिएकाे छ । श्री मालिकार्जुन ज्योर्तिलिंग स्थायी बासस्थान खोज्दै जाने क्रममा मालिकार्जुनको श्री शैल्य शिखर पर्वतमा आई बस्नुभएको हो भन्ने कुरा मालिकार्जुनको झोडो स्तुतीगानमा उल्लेख भएको पाइन्छ । मालिकार्जुनको शैल्यशिखर धाम मालिकार्जुन गाउँपालिका र शैल्यसिखर नगरपालिकाकाे वडा नम्बर -६ ग्वानीको बिच माथि शिखरधुरामा पर्दछ । आराध्यदेव श्री मालिकार्जुन देवता बासस्थानको खोजीमा रिठाबाट हिडेपछि उता अभयराज पाण्डेय रिठामै बसी मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै थिए । उनका अन्य साथिहरू प्रभुको ज्योर्तिलिगंको खोजीका क्रममा विभिन्न ठाउँहरूमा घुम्दै गए ।

Attariya Hospital

तर, कहि कतै पनि उनीहरूले आफ्ना इष्टदेव मालिकार्जुनको ज्योर्तिलिङ्ग नभेट्टाएपछि भक्ति र शोकमा व्याकुल भए । यसरी इष्टदेव मालिकार्जुनको भक्ति भावमा विलीन भएका अभयराज पाण्डेयलाई महाराज मालिकार्जुनले राती सपनामा दर्शन दिई आफू मालिकार्जुनको शैल्य शिखरमा डेरा जमाई बसेको बताए । सपनामा अभयराज पाण्डेयलाई भनेछ, तिमी भक्त एक्लै यहाँ पुग्न सक्दैनौ, म तिम्रो घरमा बाघ पठाउने छु र त्यो बाघको दायाँ खुट्टामा निङालाको सुरा हुनेछ, तिमी नडराउनु र त्यो सुरा बाघको खुट्टाबाट निकाल्नु अनि त्यसपछि बाघ आफ्नो बाटो लाग्ने छ र तिमी पनि बाघकै पछि–पछि आउदै गर्नु । बाघले तिमीलाई म कहाँ पु-याउने छ ।’

त्यसपछि अभयराज पाण्डेको निन्द्रा खुल्छ, र ब्युझी हेर्दा बाहिर उज्यालो भएको हुन्छ, सपनिमा भने जस्तै वहाँको अगाडि प्रभुले भने जस्तै खुट्टामा निङालाको सुरा भएको बाघ देखिन्छ । बाघलाई देखेपछि अभयराजले भयभित हुँदै बाघको खुट्टाको निङालाको सुरा निकाली दिनुभयो । अनि बाघ सरासर आफ्नो बाटोतर्फ लाग्छ र अभयराज पाण्डेय पनि बाघकै पछि पछि लाग्छन् । बाघले उनलाई शिखर पर्वतको शिलामा पु-याउछ । त्यहाँ पुग्दा अभयराजले साच्चीकै शिवलिंग पाउँछन् । अभयराजले खुसीको आँसु झार्दै महाराजप्रति भक्ति भाव प्रकट गर्छन र त्यतिनै बेला अभयराजले अाकास वाणी सुन्छन् । महाराज मालिकार्जुनले अभयराजलाई भन्नुभयो, “हे भक्त मेरो स्थायी वसोवास अबदेखि यहि नै हुन्छ, अबदेखि तिमी यही आएर मेरो पुजन र दर्शन गर्न सक्छौ ।’ अरु भक्तहरूलाई पनि यही आउन भनि दिनु भन्दै आकाश वाणी बन्द हुन्छ” ।

यसरी शिखरबाट घर फर्केका अभयराजले श्री शैल्य मालिकार्जुनको ज्योर्तिलिंग खोज्दै हिडेका अन्य भक्तहरू भिमराज भट्ट, निमनाथयोगी, सुरदास औजी र धिराधारालाई खवर गर्न गाउँ गाउँ मान्छे पठाएछन् र शिवलिंग शिखर पर्वतमा विराजमान भएको र त्यहि पुजाँपाठ गर्नुपर्ने सन्देस दिन्छन् । साच्चिकै शिखर पर्वतमा रहेको शिला भित्रको अदृष्य गुफामा यस्तो महान एंव अद्वैत शक्ति छ, जसको बयान गर्न प्रयाप्त शब्दहरू नै छैनन् । म संग भक्तिभाव र सर्मपण छैन, त्याग, तपस्या र साधना पनि छैन् । यसरी मैले आफ्नाे त्याग, तपस्या र संकल्प बिना मालिकार्जुन स्वामीकाे बारेमा प्रशंसा गर्दा मालिकार्जुन स्वामीकाे अपमान गरेकाे ठहरिने छ । महाराज मालिकार्जुन विराजमान हुनुभएको शिखर पर्वतमा पौराणिक कालदेखी हरेक वर्ष अषाढ शुक्ल चतुर्दसी र कार्तिक शुक्ल त्रियोदसीका दिन विधि अनुसार पुजा अर्थात पुजन, दर्शन गर्ने गरिन्छ । महिना दिन अगाडि देखि नुहाई धाेई चाेखाे बसि विशिष्ट खालको नीतिनियम र विधि पार गर्दै पुगिने यो श्री शैल्य शिखर पुजन र दर्शन गार्नाले विघ्न वाधा हट्ने, सत्रु नास हुने, मनमा शान्ति मिल्ने, दरिद्रता नास हुने, मान-सम्मानका साथै मुक्ति प्राप्त हुने जनविश्वास रहेकाे छ । म पनि माथि उल्लिखित कुराहरुमा सतप्रतिशत बिश्वस्त छु ।
जय मालिकार्जुन स्वामी !!!

मान सिंह धामी (भाैनबाटी)
उप-प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
श्राेत सामाग्री :
काशीदत्त भट्ट (२०४३) मालिकार्जुन भक्तिखण्ड काव्य हरिद्धार : फैन्डस प्रिन्टिङ प्रेस ।
इश्वरदत्त बडु (२०७१) दुहूँ क्षेत्रमा प्रचलित पौराणिक लोकगाथाहरूको अध्ययन स्नातक शोधपत्र ने.स. वि.वि. शारदा विद्यापीठ महेन्द्रनगर कञ्चनपुर ।
दयाकृष्ण पन्त (२०६७) दार्चुलाको इतिहास महेन्द्रनगर ।
धामी, राजेन्द्र, दामाेदर (२०७८), आराध्यदेव हुनैनाथकाे महिमा तथा औल्लेकी धामीहरुकाे वंशावली । गाेकुलेश्वर, दार्चुला ।
पाण्डे, वद्री दत्त (२०१९), कुमाऊँ का इतिहास, भारत