
इन्डियन प्रिमियर लिग (आईपीएल) मा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्ससँग ३३ रनले लज्जास्पद हार बेहोरेको छ। प्लेअफ दौडबाट पहिल्यै बाहिरिएको लखनउसँगको यस हारले गुजरातको शीर्ष दुईमा रहने सम्भावनामा दबाब थपिएको छ।

लखनउले दिएको २३६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा गुजरातले २० ओभरमा ९ विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो। शाहरुख खानले सर्वाधिक ५७ रन बनाउँदै केही आशा जगाए पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
अन्य योगदानमा शेरफन रदरफोर्डले ३८, कप्तान शुभमन गिलले ३५, जस बट्लरले ३३ र साइ सुदर्शनले २१ रन बनाए। बलिङतर्फ लखनउका विलियम ओ’रोर्कले ४ ओभरमा २७ रन खर्चिएर ३ विकेट लिए। आवेश खान र आयुष बदोनीले समान २–२ विकेट झारे भने शाहबाज अहमद र आकाश सिंहले १–१ विकेट लिए।


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २ विकेट मात्र गुमाएर २३५ रनको भारी योगफल खडा गर्यो। मिचेल मार्शले आक्रामक शैलीमा ११७ रनको शतकीय इनिङ खेले भने निकोलस पूरनले अविजित ५६ रन जोडे।
गुजरातका लागि अर्शद खान र आर साइ किशोरले समान १–१ विकेट लिन सफल भए।
यो हारपछि गुजरातले १३ खेलमा १८ अंकसहित शीर्ष स्थान कायम राखे पनि शीर्ष दुईमा पुग्न अन्तिम खेल जित्नुपर्नेछ, साथै पञ्जाब वा बेंगलुरु मध्ये कुनै एकले कम्तीमा एक खेल हार्नुपर्ने परिस्थिति बनेको छ। लखनउको यो जितपछि १३ खेलबाट १२ अंक पुगेका छन्।





























